जनकपुर– प्रदेश २ मा गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रम (मेडमा ) प्रदेश सरकारले तत्कालको लागि स्थगित गरेको छ।मन्त्री–सचिव कुटाकुट काण्ड गराउने मुख्य कारण मानिएको उक्त कार्यक्रम मन्त्रिपरिषद्को बैठकले हाललाई स्थगित गर्ने निर्णय गरेको मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
कार्यालयले आज बुधबार सूचना प्रकाशित गरी कार्यक्रम स्थगित गरिएको जानकारी दिएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव सुशील श्रेष्ठले प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई कार्यक्रम स्थगित गरिएको मन्त्रिपरिषद्को निर्णयसहित पत्राचार गरेको बताए।
पुस २९ गतेको मन्त्रिपरिषद्को बैठकले कार्यक्रम स्थगित गरे पनि उद्योग मन्त्रालयले आफू मातहतको जिल्ला कार्यालयलाई माघ ८ गते मंगलबार मात्र पत्राचार गरेको छ। संघीय सरकारको सशर्त अनुदानमा गरिबी निवारणको लागि उद्यम विकास कार्यक्रमका लागि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आशयपत्र आह्वान गरेको थियो।
१ सय ९३ वटा एनजीओले आसयपत्र बुझाएकोमा मन्त्रालयले ४० वटा एनजीओलाई प्रारम्भिक चरणमा छनोट गरिएको थियो। एनजीओ छनोटकै विषयमा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव र उद्योग मन्त्रालयका सचिव विद्यानाथ झाबीच कुटाकुट भएको थियो।
आफूले सिफारिस गरेको एनजीओ नपरेको झोंकमा मन्त्री यादव र सचिव झाबीच विवाद भएकै साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कार्यक्रमको सबै प्रक्रिया स्थगित गरेको खुलेको छ।
गरिबी निवारणका लागि उद्यम कार्यक्रम अन्तर्गत प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मंसिरको दोस्रो साता गैर सरकारी संस्था(एनजीओ)लाई आसयपत्र बुझाउन आह्वान गरेको थियो।
मंसिर २३ र २४ गते प्रदेशको आठवटै जिल्लाका लागि एनजीओले बुझाएको प्रस्ताव खोलियो। प्रदेश सरकारले ८ वटै जिल्लामा उद्यमका लागि क्षमता अभिवृद्धि कार्यक्रम लागू गर्न छनोट भएका एनजीओमध्ये धेरैजसो बाहिरका परेको र आफूले सिफारिस गरेको एनजीओ नपरेपछि मन्त्रीहरू रुष्ट बनेका थिए।
त्यही क्रममा मन्त्री यादव र सचिव झा बिच विवाद भएको हो। मेडपा कार्यक्रम कै कारण स्थिति बिग्रन थालेपछि मन्त्रिपरिषद्को बैठकले हाललाई स्थगित गरेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।