काठमाडौं- पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा र हिमपात भइरहेको छ।
पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट साेमबारदेखि सुरु भएको वर्षा गएरातिदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको मौसमविद् समीर श्रेष्ठले बताए। उनका अनुसार यो क्रम बुधबार रातिसम्म कायम रहने छ। मङ्गलबार रातिदेखि सुरु भएको वर्षा बुधबार मध्याह्नतिर केही समय रोकिएपनि बेलुकीपखबाट पुनः सुरु हुने मौसमविद् श्रेष्ठले बताए।
आज उपत्यकासहित देशभरि नै माैसममा बदली भई देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको बताइएको छ। काठमाडौं उपत्यकाको उच्च पहाडी क्षेत्र फूलचाेकी, चन्द्रागिरिलगायत स्थानमा हिमपात भएको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ।

देशको पश्चिमी उच्च पहाडी क्षेत्रमा भारी हिमपात भइरहेकोे छ।
हिमपात र वर्षा भएपछि लगाएकाे बालानाली सप्रने भन्दै किसानहरु भने हर्षित भएका छन्। तर, धेरै पहाडी जिल्लामा भने विद्यालय तथा यातायात सेवा प्रभावित बनेकाे छ।
देशका पश्चिमी भागमा भोलिसम्म यो प्रणालीले प्रभाव पर्ने छ। हिजोदेखि सुरु भएको वर्षाले अझै केही दिन निरन्तरता पाउने बताइएको छ। भोलि (बिहीबार) एक दिन यो प्रणाली हटेपनि आगामी शुक्रबारबाट पुन: पश्चिमी वायु सक्रिय हुने र त्यसको प्रभावले पानी पर्ने मौसमविद् श्रेष्ठको भनाइ छ।
देशका अधिकांश भू–भागमा वर्षा र हिमपात भइरहेकाले तापक्रम घट्ने र चिसो बढ्ने छ। काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष शून्य डिग्रीसम्म पुगेको थियो। आज वर्षापछि चिसो बढे पनि यस वर्ष शून्य डिग्रीभन्दा तल नझर्ने मौसमविद् श्रेष्ठले बताए। महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौंमा ८.१ मिलिमिटर वर्षा भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।