भद्रपुर- जयेन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषले प्रत्येक वर्ष प्रदान गरिँदै आएको साहित्य तथा पत्रकारिता पुरस्कारका लागि कृति तथा प्रतिभा छनोट गरेको छ।
कोषले यस वर्ष काठमाडौं* घर भएकी स्रष्टा अर्चना थापाको ‘कठपुतला’ कृतिलाई २०७४ मा प्रकाशित वर्षोत्कृष्ट कृति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ। कोषद्वारा स्थापित विष्णु–चन्द्र–पद्मा दीर्घ साहित्य सेवा पुरस्कारबाट साहित्यकार कृष्ण धराबासीलाई सम्मान गर्ने निर्णय गरिएको कोषका महासचिव छविलाल खतिवडाले जानकारी दिए। एक दर्जनभन्दा बढी कृतिका सर्जक धराबासी यसअघि मदन पुरस्कारबाट समेत सम्मानित व्यक्तित्व हुन्।
कोषले विष्णुकुमार भट्टराईको संयोजकत्वमा उत्कृष्ट कृति तथा दीर्घ साहित्य सेवा सम्मान छनोट उपसमिति गठन गरेको थियो।
कोषले क्रियाशील महिला पत्रकारलाई प्रत्येक वर्ष प्रदान गरिँदै आएको धनमाया महिला सक्रिय पत्रकारिता पुरस्कार हिमालय टेलिभिजनका झापा संवाददाता भारती राईलाई प्रदान गर्ने निर्णय गरेको छ।
पुरस्कार आउँदो माघ १६ गते प्रदान गरिनेछ।
(राससले घर झापा उल्लेख गरे पनि आख्यानकार थापाले पछि जानकारी गराएको आधारमा सच्याएका छौं।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।