काठमाडौं– काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ। विशेषगरी पूर्व, मध्य तथा पश्चिम क्षेत्रका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज सामान्यतया देशभर बादल लागिरहने छ। पश्चिमी वायु पूर्व सर्ने क्रम रहेकोले वर्षा भइरहेको मौसमविद् शान्ति कँडेलले बताइन्। मंगलबार सुदूर र मध्यपश्चिम क्षेत्रका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्नुका साथै हिमपातसमेत भएकाे थियाे।
तत्काल देशभरीकै मौसम पूर्णरुपमा खुल्ने सम्भावना नभएको पनि कँडेलले प्रष्ट पारिन्। यो प्रणाली बुधबार बेलुकीसम्म नै सक्रिय रहने भएकाले बिहीबारदेखि मात्रै मौसममा सुधार आउने उनको अनुमान छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। वर्षा र हिमपात हुने भएकाले मंगलबार र बुधबार पदयात्रामा ननिस्कन मौसमविद् कँडेलको सुझाव छ।
यस्तै, हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्दा पनि सावधानी अपनाउन उनले आग्रह गरिन्।
पानी तथा हिमपातका कारण देशभर चिसो बढेको छ। यस्तो समयमा न्यानो कपडा लगाउन तथा तातो तरल पदार्थ र खाना मात्रै खान चिकित्सकहरुले सुझाव दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।