कञ्चनपुर– अत्तरियामा महोत्सव हेरी फर्किने क्रममा एक जनाको ज्यान जाने गरी आक्रमण गर्ने मध्ये थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार विज्ञप्ति प्रकाशित गर्दै गोदावरी १ का २० वर्षीय अरुण भट्टलाई खुकुरी प्रहारी गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा गोदावरी–२ का १९ वर्षीय राजु कठायत, सोही ठाउँका १९ वर्षीय बिरेन्द्र शाह र सोही ठाउँका २० वर्षीय प्रमेश मगरलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयले कठायत र मगरलाई धनगढीबाट र शाहलाई गोदावरीबाट पक्राउ गरेको जनाएको छ। उनीहरु मृतक भट्टलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोग प्रहरीले लगाएको छ।
यसअघि प्रहरीले सोही कसुरको अभियोगमा गोदवरी–२, शिवशक्ति टोलका २१ वर्षीय बिनोद ऐरलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।
प्रहरीले सोमबार सो घटनाका अभियुक्तलाई डेरामा लुकाएको अभियोगमा धनगढी–३, बोराडाँडीका २२ वर्षीय डेविड ऐर, भजनी–२ घर भई धनगढी–२ उत्तरबेहडी डेरामा बस्ने २१ वर्षीय मञ्जु चौधरी खड्का र धनगढी–१३ शिवटोल बस्ने २१ वर्षीय लोकेश खत्रीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभुषण तिमिल्सिनाले बताए।
उनले घटनामा संलग्न थप अभियुक्तलाई पिछा गरिरहेको बताए। उनले हत्या गरी भाग्न प्रयोग गरिएको से ४ प ५९२८ नम्बरको मोटरसाइकल बरामद गरिएको र हत्यामा प्रयोग गरिएको खुकुरी खोजिरहेको बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।