काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला १० महिनाभित्र बनाउनुपर्ने प्रावधान राख्दै रंगशाला निर्माणका लागि ग्लोबल टेन्डर आह्वान गरेको छ।
मार्च २०१९ मा नेपालमा आयोजना हुने तय भएको दक्षिण एसियाली खेलकुदलाई लक्षित गरी रंगशाला निर्णाण गर्न लागिएको हो। रंगशाला २० हजार दर्शक क्षमताको हुनेछ भने १ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ।
ग्लोबल टेन्डरको अन्तिम मिति मंसिर २२ गते सम्मका लागि तोकिएको छ। पहिलो चरणको टेन्डरबाट छनोट भएका कम्पनीले मात्र दोस्रो चरणको टेन्डरमा भाग लिन पाउने परिषदले जनाएको छ।
टेन्डरमार्फत छनोट भएको मितिले १० महिनाभित्र रंगशाला बनाइसक्नुपर्नेछ। अन्तर्राष्ट्रिय स्तरको रंगशालामा ट्रयाक एन्ड फिल्ड, आधुनिक फ्लड लाइट, स्कोर बोर्ड, डिस्प्ले बोर्ड, खेलाडी आराम कक्ष, कन्फरेन्स हल, स्टोर रुम लगायतका कक्ष हुनेछन्।
नयाँ प्याराफिट आकर्षक बनाउन पुराना दुई प्याराफिट भत्काइनेछ। पुरानो पोखरा रंगशाला ०४० सालमा बनेको हो। त्यसबेला दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि परिषद्ले पोखरामा रंगशाला बनाएको थियो। पटकपटक मर्मत संभार भए पनि दुई वर्षअघि गएको भूकम्पका कारण रंगशालाको भौतिक संरचना कमजोर बनेको थियो।
खेलकुद परिषदले आह्वान गरेको ग्लोबल टेन्डर यस्तो छ :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।