काठमाडौं– नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजङ्ग बस्नेतले वाइडबडी घोटाला प्रकरणको पारदर्शी छानबिन हुनुपर्ने माग गरेका छन्।
तरुण दलले विराटनगरमा आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रममा उनले वर्तमान सरकारलाई महङ्गी, बलात्कार र भ्रस्टाचारको संज्ञा दिएका छन्।
प्रदेश स्तरीय विरोध कार्यक्रम मार्फत तरुण दलले सरकार अधिनायकवाद उन्मुख भएको आरोप लगाएको छ। विराटनगर उपमहानगरको गेटबाट सुरु भएको प्रदर्शन महेन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
बस्नेतले अघिल्लो देउवा सरकारले गरेका निर्णय उल्टाएर सरकारले गल्ती गरिरहेको बताए। बस्नेतले सरकार अझैपनि नसच्चिए सडकबाटै सरकार ढाल्ने धम्की दिए।
निर्मला पन्त बलात्कारको छानबिन हुनुपर्ने, महङ्गी नियन्त्रण हुनुपर्ने र वाइडबडी घोटालाको न्यायिक छानबिन गर्न तरुण दलले माग गरेको छ।
विगतमा कांग्रेसलाई कमजोर सोच्दा र प्रजातन्त्रमाथि धावा बोल्दा सडकबाटै सत्ता परिवर्तन भएको भन्दै बस्नेतले सरकारलाई आफ्नो कार्यशैली सुधारेर अगाडि बढ्न सुझाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।