काठमाडौं- संसदीय सुनुवाइ विशेष समितिले तीन जना राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।
समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले सरकारद्वारा क्यानडाका लागि प्रस्तावित राजदूत भृगु ढुंगाना, संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि तथा स्विट्जरल्यान्डका लागि मणिप्रसाद भट्टराई र कुवेतका लागि प्रस्तावित राजदूत दुर्गाप्रसाद भण्डारीको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो।
तीनै जनाको नाम संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
गत पुस ६ र ९ गते बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई क्यानडा, भट्टराईलाई स्विट्जरल्यान्ड र भण्डारीलाई कुवेतसहित ५ जनालाई राजदूतको रुपमा सिफारिस गरेको थियो।
समितिको गत माघ ३ गते बसेको बैठकले फ्रान्सका लागि प्रस्तावित राजदूत दीपक अधिकारी र थाइल्यान्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकालको नाम पनि सर्वसम्मतिले अनुमोदन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।