नयाँ दिल्ली (एजेन्सी)– बलिउडमा यतिबेला आमा बन्ने नायिकाहरुको क्रम सुरु भएको छ। केही समयअगाडि आमा बनेकी करिना कपुर ‘वीरे दि वेडिङ’ मार्फत फिल्ममा फर्किने तयारी गरिरहेको बेला हेमा मालिनीकी छोरी इशा देओलले छोरीलाई जन्म दिएकी थिइन्। लगत्तै ‘रेडी’ र ‘गजिनी’ कि नायिका असिन थोट्टुमकलले पनि छोरीलाई जन्म दिएको खबर बाहिरिएको छ।
असिन गत वर्ष माइक्रोम्याक्स मोबाइल कम्पनीको संस्थापक राहुल शर्मासँग वैवाहिक बन्धनमा बाँधिएकी थिइन्। हिन्दु र क्रिश्चियन मान्यताअनुसार विवाह गरेका यिनीहरुले केही समय अगाडि सोशल मिडियामा खुसी साटेका थिए।
असिनले आफ्नो इन्स्टाग्राममा आमा बनेको खबर दिएकी थिइन्। उनले लेखेकी छिन्, ‘मलाई यो बताउँदै गर्दा खुसी लागेको छ, घरमा सानी छोरीको आगमन भएको छ। प्रेम र आर्शिवादका लागि धन्यवाद।’
असिनले आफ्नो जन्मदिन २६ अक्टुबरभन्दा एक दिन अगाडि छोरी पाएकी हुन्। दक्षिण भारत र बलिउडकी हिट नायिका असिनले विवाहपछि फिल्म खेलेकी छैनन्। अक्षय कुमारसँग फिल्म ‘खेलाडी ७८६’ खेल्ने क्रममा असिनको राहुलसँग भेट भएको थियो। अक्षयले नै उनीहरुको भेट गराइदिएका थिए। असिनको अन्तिम फिल्म ‘अल इज वेल’ हो। यो २०१५ मा रिलिज भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।