काठमाडौं– भिएलएनका राम श्रेष्ठलाई सफाइ दिने ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमंगल आत्रेयमाथि छानबिन गर्न सर्वोच्चका न्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन भएको छ।
न्यायाधीश डा आनन्दमोहन भट्टराईको नेतृत्वमा सोमबार बसेको न्याय परिषदको बैठकले समिति गठन गरेको हो। न्याय सम्पादन प्रक्रियामा ‘बद्नियतपूर्ण' व्यवहार गरेको देखिएको भन्दै ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमंगल आत्रेय न्यायपरिषद सचिवालयमा पुस २६ तानिएका थिए।
उच्च अदालतमा श्रेष्ठ स्वयंले पुनरावेदन गरेको अवस्थामा कसरी त्यसलाई बेवास्ता गर्दै जिल्ला अदालतले फैसला गर्यो भनी परिषद्ले अध्ययन गरेको थियो ।
उच्च अदालतमा विपक्षी झिकाउने आदेश भएको अवस्थाका केही समय नकुरी फैसला हुनु न्यायाधीशको बदनियत हुने आशंका बढेपछि छानबिन समिति गठन भएको परिषदका एक सदस्यले बताए।
उच्च अदालतका मलेसिया जाने कामदारको ठगी सम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ चलिरहेको छ।
‘सूक्ष्म निगरानी समितिको प्रारम्भिक प्रतिवेदन हेर्दा न्यायमा विचलन भएको देखिएको छ,' ती सदस्यले भने, ‘बाँकी समितिको प्रतिवेदनपछि मात्र निष्कर्षमा पुग्न सकिन्छ।’
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले न्यायाधीशमाथि निगरानी राख्न गठन गरेको संयन्त्रको प्रतिवेदनपछि आत्रेयलाई कारबाही स्वरुप काजमा सचिवालयमा तानेको थियो।
संयन्त्रको कारबाहीमा पर्ने उनी पहिलो न्यायाधीश थिए।
राणाले न्यायाधीशमाथि निगरानी राख्न गठन गरेको संयन्त्रको प्रतिवेदनपछि उनलाई सचिवालयमा काजमा तानिएको हो। यसअघि भिएलएन र वान स्टेप सेन्टरका सञ्चालक राम श्रेष्ठलाई सफाइ दिन जाहेरीवालाको बकपत्र नलिई अदालतले फैसला गरेको थियो।
सिन्डिकेट खडा गरी मलेसिया जाने कामदारसँग ठगी गर्दै आएका यी दुई संस्थाका सञ्चालकलाई सफाइ दिन जाहेरीवालाको बकपत्र नगराई ललितपुर जिल्ला अदालतले फैसला गरेपछि बहस सुरु भएको थियो।
श्रेष्ठलाई दोषी ठहर गर्न नसकिने दाबी गर्दै जिल्ला अदालतले गत मंसिर २५ मा सफाइ दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।