पुणे (एजेन्सी)– भारत र न्युजिल्यान्डबीच तीन एकदिवसीय शृंखलाअन्तर्गत बुधबार दिउँसाे पाैने २ बजे दोस्रो खेल हुँदैछ। पहिलो खेल गुमाइसकेको अवस्थामा भारतका लागि आजको खेल जसरी पनि जित्नु पर्ने बाध्यता छ।
भारत आज पराजित भएको खण्डमा भ्रमणकारी न्युजिल्यान्डलाई शृंखला सुम्पिन बाध्य हुनेछ। घरेलु मैदानमा यसअघि बाघको छवी बनाएको भारत यसपालि फरक परिस्थितीबाट गुज्रिएको छ।
न्युजिल्यान्डका लागि दोस्रो खेल जितेर शृंखलामा पकड बनाउने सुनौलो मौका छ। भारतको ब्याटिङ लाइन–अप बलियो मानिए पनि पहिलो खेलमा कप्तान विराट कोहलीबाहेक अन्य कसैले राम्रो गर्न सकेका थिएनन्। कोहलीले सतक बनाएका थिए भने अन्य कुनै खेलाडीले ५० रन पनि बनाउन सकेनन्।
आजको खेल भारतले जितेको खण्डमा कानपुरमा हुने तेस्रो एकदिवसीय प्रतियोगिताको निर्णायक खेल बन्ने पक्का छ। पहिलो खेलमा रोहित शर्मा र शिखर धवन राम्रो सुरुवात दिनबाट चुकेका थिए। मध्यक्रममा पनि अन्य ब्याट्सम्यानले खासै राम्रो प्रदर्शन गर्न सकेनन्।
भारतको हारमा किवी बलर ट्रेन्ट बोल्ट असरदार बनेका थिए। आज पनि बोल्ट र टिम साउदीको जोडी भारतीय ब्याट्सम्यानको टाउको दुखाई बन्ने सम्भावना प्रबल छ। यी दुबैले पहिलो एकदिवसीयमा ७ विकेट बाँडेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।