वासिङ्टन- अमेरिकी सिनेटर कमला ह्यारिसले सोमबार राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेकी छिन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्न उम्मेदवारी घोषणा गर्नेहरुको भिडमा ह्यरिस पनि देखिएकी हुन्।
अमेरिकी मुल्य मान्यताका लागि र आगामी दिनमा अमेरिका आफैंमा भर पर्नुपर्छ भन्ने पक्षमा उभिँदै आफूले राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेको उनले बताइन्।
सामाजिक सञ्जाल ट्विटरमा भिडियो सन्देश राख्दै उनले उम्मेदवारी घोषणा गरेकी हुन्।
सान फ्रान्सिस्कोका लागि सन् २००४ देखि २०११ सम्म दुई कार्यकाल जिल्ला प्रतिनिधि भएकी उनी दुई पटक क्यालिफोर्नियाको आम निर्वाचनमा पनि निर्वाचित भएकी थिइन्। त्यो कार्यकाल उनको २०११ देखि २०१७ सम्म रह्याे।
अमेरिकाको अत्याधिक जनसंख्या भएको यस राज्यमा उनी कानुन कार्यान्वयन प्रमुख अधिकृत बन्ने पहिलो महिला मात्र नभई पहिलो अश्वेत नागरिक पनि हुन्। उनी भारतीय तामिल समुदायकी छोरी हुन्।
अमेरिकाको इतिहासमा कारोल मोसेलेय ब्राउनपछि उनी दोस्रो अश्वेत महिला सिनेटर हुन्।
अमेरिकामा झन्डै २२ महिनापछि सन् २०२० मा राष्ट्रपतीय निर्वाचन हुन लागेको छ। त्यसका लागि अन्य नेताहरुले पनि उम्मेदवारी घोषणा गरेका छन् भने उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।