डाभोस- प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) बिहान विश्व आर्थिक मञ्चकाे बैठकमा सम्बाेधन गर्दै छन्। मञ्चको ४९औँ वार्षिक बैठकका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साेमबार अपरान्ह स्विटजरल्यान्डकाे डाभाेस आइपुगेका प्रधानमन्त्री ओलीले आज बैठकाे एक विशेष सत्रलाई सम्बाेधन गर्ने भएका हुन्।
ओेलीले आज ‘दक्षिण एसियाको रणनीतिक दृष्टिकोण’ विषयक पूर्णसत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीस्तरमा नेपालबाट पहिलाेपटक सम्मेलनमा सहभागीता जनाएका ओेलीकाे आजकाे सम्बाेधनलाई विशेष अर्थमा हेरिएकाे जानकारहरु बताउँछन्। दक्षिण एसियामा विश्वकै दुई ठूला शक्ति राष्ट्रहरु चीन र भारतकाे प्रभाव बढीरहेकाे अवस्थामा बीचमा रहेकाे नेपालकाे 'पाेजिसन' तथा कार्यदिशा कस्ताे हुने भन्ने सम्बन्धमा पनि ओेलीकाे समबाेधनलाई चासाेका साथ हेरिएकाे हाे।
संभ्रान्त वर्गको सम्मेलनमा ‘सर्वहारा वर्ग’का प्रधानमन्त्री!
यसअघि ‘वियोन्ड जिडिपी’ अर्थात ‘आर्थिक वृद्धिभन्दा अगाडि’ सत्रलाई पनि सम्बोधन गर्ने बताइएको भएपनि प्रधानमन्त्री ओलीले ‘दक्षिण एसियामाथिको रणनीतिक दृष्टिकोण’ र ‘लोकतन्त्रको भविष्य र त्यसको आकार’ नामक दुई सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएकाे छ।
प्रधानमन्त्री ओलीले सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन भने गर्ने छैनन्। आर्थिक मञ्चको सम्मेलनमा विश्वको आर्थतन्त्रलाई दिशानिर्देश गर्ने कुनै नीति पारित नगरिए पनि विश्व अर्थतन्त्र आगामी दिनमा कता जाँदै छ भन्ने विषयमा विचार–विमर्श गरिन्छ।
आइतबार त्यसतर्फ प्रस्थान गरेका ओलीसहितकाे टाेली साेमबार डाभाेस पुगेकाे छ। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई जुरिच अन्तर्राष्ट्रिय विमानस्थलमा स्विटजरल्याण्डका लागि नेपाली राजदूत दीपक धितालले स्वागत गरेका थिए।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा युवराज खतिवडा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल, परराष्ट्र सचिव शङ्करदास वैरागीलगायत उच्च सरकारी अधिकारी सहभागी छन्।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।