काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज स्विट्जरल्यान्ड जाँदै छन्। स्विट्जरल्यान्डको डावोसमा आयोजना हुने विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक सभामा सहभागी हुन प्रधानमन्त्री ओलीसहितको टोली आज बेलुका ९ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।
नेपालका प्रधानमन्त्रीको सहभागीताका लागि आर्थिक मञ्चको तर्फबाट औपचारीक निमन्त्रणा आएको थियो। प्रधानमन्त्रीस्तरमा डावोस सम्मेलनमा नेपालबाट पहिलो पटक सहभागीता हुन लागेको हो।
नवउदारवादी अर्थ व्यवस्थालाई प्रभावित पार्ने आर्थिक मञ्चको बैठकमा समाजवादलाई आफ्नो अभिष्ट लक्ष्य बनाएको कम्युनिष्ट सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री ओली सम्मेलनमा सहभागी हुन लागेका हुन्।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको माघ २३ गतेको बैठक र माघ ४ गतेको बैठकमा डावोस सम्मेलनमा आफ्नो सहभागीताका विषयमा प्रष्ट पारेका थिए। प्रधानमन्त्री ओलीले औपचारिक हिसाबमा नेपाललाई सम्मेलनमा निमन्त्रणा गर्नुलाई परिवर्तित सन्दर्भमा नेपालको विश्व मञ्चमा गुरुत्व बढेको रुपमा अर्थ्याएका थिए।
आर्थिक मञ्चको सम्मेलनमा विश्वको आर्थतन्त्रलाई दिशानिर्देश गर्ने कुनै नीति पारित नगरिए पनि विश्व अर्थतन्त्र आगामी दिनमा कता जाँदै छ भन्ने विषयमा विचार–विमर्श गरिन्छ।
प्रधानमन्त्री ओलीले सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन भने गर्ने छैनन्। उनले सम्मेलनका विशेष दुई सत्रलाई भने सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
डावोस सम्मेलन संयुक्त राष्ट्रसंघ वा अन्य बहुराष्ट्रिय सम्मेलन जस्तो नभएकाले आफूले भन्न खोजेको कुरा भूमिकाबिनै अभिव्यक्त गर्दा राम्रो हुने राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्ले बताउँछन्। प्रधानमन्त्रीलाई सम्मेलनका विषयमा सुझाव दिन बालुवाटारमा आयोजित कार्यक्रममा वाग्लेले उक्त कुरा बताएका थिए।
सम्मेलनमा प्रधानमन्त्रीले ‘दक्षिण एसियामाथि रणनीतिक दृष्टिकोण’ नामक सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यसअघि प्रधानमन्त्रीले ‘वियोन्ड जिडिपी’ अर्थात ‘आर्थिक वृद्धिभन्दा अगाडि’ सत्रलाई पनि सम्बोधन गर्ने बताइएको भएपनि प्रधानमन्त्री ओलीले ‘दक्षिण एसियामाथिको रणनीतिक दृष्टिकोण’ र ‘लोकतन्त्रको भविष्य र त्यसको आकार’ नामक दुई सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
‘दक्षिण एसियामाथि रणनीतिक दृष्टिकोण सत्रमा प्रधानमन्त्रीले जलवायु परिर्वतन, बढ्दो बेरोजगारी र सहरीकरण, कनेक्टिभिटीमाथि बोल्न सुझाव दिएको छु’, वाग्लेले भने, ‘दक्षिण एसियामाथिको रणनीति सत्रमा बोल्ने भएकाले प्रधानमन्त्री ओलीले समग्ररुपमा यो क्षेत्रको साझा विषयमा बोल्नुपर्छ।’
विश्व बैंकले केही समयअघि सार्वजनिक गरेको ‘इज अफ डुइङ बिजनेस’मा गत वर्षको तुलनामा नेपालको स्थान ५ स्थान तल खस्किएको छ। ११०औं स्थानमा परेपनि डावोस सम्मेलनमा सहभागी हुने विश्वका प्रतिष्ठित व्यवसायीसमक्ष प्रधानमन्त्री ओलीलाई नेपालमा लगानी सम्भाव्यतासम्बन्धमा स्पष्ट पार्ने अवसर यो सम्मेलनले दिएको छ।
सरकारले आगामी चैत महिनामा आयोजना गर्न लागेको ‘नेपाल लगानी सम्मेलन’मा सहभागीता र लगानी जुटाउन पनि यो सम्मेलन फलदायी हुनसक्छ। विकसित र शक्तिशाली देशका नेता, उद्योगी, व्यापारी, बहुराष्ट्रिय कम्पनीका मालिक, हलिउडका सेलेबे्रटीलगाएतका ३ हजार प्रतिनिधिहरुको सहभागीता हुने सम्मेलन नेपालजस्तो विकासशील देशले आयोजना गर्न लागेको लगानी सम्मेलनको प्रचार गर्न उपयुक्त ‘प्ल्याटफर्म’ बन्नसक्छ।
माघ ८ गते विश्व आर्थिक मञ्चका कार्यकारी अध्यक्ष क्लाउस स्वाबले आयोजना गर्ने रात्रीभोज सम्मेलनकै महत्वपूर्ण कार्र्यक्रमका रुपमा रहने छ। सरकार प्रमुखका श्रीमान श्रीमतीमात्र सहभागी हुन पाउने सो भोजमा प्रभावशाली देशका सरकार प्रमुखसँग अन्तक्र्रिया गर्न पाउनु प्रधानमन्त्री ओलीका लागि राम्रो अवसर पनि हो।
विश्वव्यापीकरण र आर्थिक विकासमा केन्द्रित विश्व आर्थिक मञ्च निजी क्षेत्रलाई प्रबर्द्धन गर्ने संस्था हो। समाजिक उत्तरदायित्वसहित समाजवादउन्मुख देशको परिकल्पना गरेको सरकार आफ्नो नेतृत्वमा कसरी समाजवादउन्मुख हुँदैछ भन्ने प्रष्ट पार्न प्रधानमन्त्री ओलीलाई यो कार्यक्रम उपयुक्त थलो हुनसक्छ।
डावोस विश्व आर्थिक सम्मेलनप्रति विश्वका वामपन्थीहरु खासै सकारात्मक छैनन्। सम्मेलनको अवसर पारेर स्विट्जरल्यान्डको डावोस सहरमा विरोधका कार्यक्रम पनि हुने गरेका छन्। यस्तै डावोस सम्मेलनको प्रतिवादमा दक्षिण अमेरिकी देश ब्राजिलमा विश्वका वामपन्थीहरुको सम्मेलन पनि हुँदै छ। संभ्रान्त वर्गको प्रतिनिधित्व गर्ने आरोप खेपेको नवउदारवादको हिमायती डावोस सम्मेलनमा ‘सर्वहारा वर्ग’को प्रतिनिधित्व गर्ने नेपालका प्रधानमन्त्री ओली र उनको विचारलाई अर्थपूर्ण हिसाबमा लिइने छ।
प्रधानमन्त्रीसहितको १९ जनाको प्रतिनिधिमण्डल माघ १२ गते स्वदेश फर्किने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।