बाजुरा– नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति तथा संविधान सभाका उम्मेदवार मनबहादुर रावल वाम गठबन्धनमा प्रवेश गरेका छन्। बुधवार बिहान उनी लामो समयदेखि सक्रिय पार्टीबाट मोह भंग भएको भन्दै बाम गठबन्धनसँग सहकार्य गर्न पुगेका हुन्।
२०३६ सालदेखि नेपाली काँग्रेसको सक्रिय कार्यकर्ता रहेका उनी २०४७ देखि लामो समयसम्म जिल्ला सभापति भएका थिए । २०७० सालको संविधान सभा निर्वाचनमा काँग्रेसका तर्फबाट प्रत्यक्ष उम्मेदवार बनेका उनी एमालेका कर्ण थापासँग पराजित भएका थिए।
उनलाई आज बिहान नेकपा एमालेका बैकल्पिक पोलिट व्यूरो सदस्य कर्ण थापा र प्रतिनिधि सभाका उम्मेदवार तथा एमालेका केन्द्रिय सदस्य लालबहादुर थापाले पार्टीमा स्वागत गरेको एमाले बाजुराका प्रचार विभाग प्रमुख अमर खड्काले बताए ।
जिल्लामा काँग्रेसलाई आफ्नै नेतृत्वमा एउटा उचाइ प्रदान गरेपनि केन्द्र र जिल्ला तहको नेतृत्वबाट अन्यायपूर्ण व्यवहार भएको उनले बताएका छन् । उनले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मैले पार्टीका लागि लामो समय काम गरें तर पार्टी नेतृत्वले त्यसको मूल्यांकन गरेन । यसकारण बाम गठबन्धनलाई सघाएर नयाँ राजनीतिक यात्रा थाल्ने निर्णय लिन पुगेको हुँ ।’
बुढीगंगा नगरपालिका देवलसैन–८ का स्थायी बासिन्दा रावल काँग्रेस बाजुराका प्रभावशाली नेता मध्येका एक मानिन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।