काठमाडौं- सरकारले मलेसियाको रोजगारी बन्द गरेको झन्डै ९ महिनापछि म्यानपावर कम्पनीमार्फत कलिङ भिसा आएको कामदारको विवरण माग रेको छ।
नयाँ प्रक्रियाबाट कामदार लैजान प्रक्रिया सुरु नभए पनि जेठ २ गतेअगाडि नै कलिङ भिसा आएका कामदारलाई मलेसिया जान दिनुपर्ने म्यानपावर व्यवसायीले माग राख्दै आएका थिए।
वैदेशिक रोजगार विभागले माघ ७ गते सोमबार एक सूचना प्रकाशित गर्दै १५ दिनभित्र कलिङ भिसा प्राप्त गरेर मलेसिया जानबाट वञ्चित कामदारको विवरण मागेको हो।
व्यवसायीले भने ९ हजारभन्दा बढी कामदारको कलिङ भिसा आएको दाबी गर्दै आएका थिए।
विभागले भिसा आइसकेका कामदारको सबै विवरण समेत माग गरेको छ।
नेपाल र मलेसियाबीच गत कात्तिक १२ गते श्रम समझदारी भएको थियो। अब नेपाली कामदार मलेसिया जाँदा शून्य लागतमा जाने व्यवस्था गरिएको छ। तर पठाउने प्रक्रियाको विषयमा कुरा नमिल्दा हाल नेपाली कामदार मलेसिया जान बन्द छ।

विभागले मलेसिया जाने प्रक्रियामा रहेका जेठ २ गते अगाडि नै कलिङ भिसा आएका कामदारको विवरण माग गरेसँगै वैदेशिक रोजगार व्यवसायी संघले पनि म्यानपावर व्यवसायीसँग विवरण संकलन गर्ने भएको छ।
संघले एक सूचना जारी गर्दै व्यवसायीसँग विवरण माग गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।