काठमाडौं– एक महिनापछि थाइल्यान्डमा हुने आइसिसी महिला विश्व टी–२० छनोटअन्तर्गत एसिया छनोट खेल्न लागेको नेपालले तयारी सुरु गरेको छ। मंगलबारदेखि सुरु भएको पहिलो चरणको तयारीमा ४४ खेलाडी सहभागी भएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को प्रत्यक्ष निगरानीमा रहेको नेपाली महिला टिमको प्रशिक्षकमा सामसङजंग थापा छन्।
गत वर्ष भएको सातौं राष्ट्रिय खेलकुद, अत्तरिया कप र इटाहरीमा भएको राष्ट्रिय प्रतियोगिताका आधारमा पहिलो चरणमा खेलाडी छानिएका हुन्। नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेकाले घरेलु प्रतियोगिता हुन नसक्दा एक वर्षअघिकै प्रतियोगितामा गरेको प्रदर्शनलाई छनोटको आधार मानिएको छ।
'सातौं राष्ट्रिय खेलकुद र अत्तरिया कपमा उत्कृष्ट खेलेका ४४ खेलाडीलाई अभ्यास खेलका लागि बोलाएका छौं,' थापाले नेपाल लाइभसँग भने, 'अभ्यास खेलमा राम्रो खेल्ने खेलाडीले दोस्रो चरणमा मौका पाउनेछन्।'
प्रशिक्षक थापाका अनुसार पहिलो चरणको छनोटमा सहभागी खेलाडीलाई ४ टिममा विभाजन गरिएको छ। चार टिमले एकआपसमा ३–३ अभ्यास खेल्नेछन्। यही आधारमा दोस्रो चरणका लागि खेलाडी छनोट हुनेछन्। अभ्यासमा उत्कृष्ट प्रदर्शन गरेका २२ खेलाडीलाई दोस्रो चरणको टिममा स्थान दिइने प्रशिक्षक थापाले जानकारी दिए।
दोस्रो चरणको बन्द प्रशिक्षणपछि १४ सदस्यीय अन्तिम टिम घोषणा गरिनेछ। अन्तिम टिमले एक साता बंगलादेशमा प्रशिक्षण गर्ने प्रशिक्षक थापाले बताए।
नेपाली टिम २३ कात्तिकमा बंगलादेश जानेछ। बंगलादेशमा एक साता प्रशिक्षण गरेपछि नेपाली टिम एसिया छनोट खेल्न सिधै थाइल्यान्ड प्रस्थान गर्नेछ। बंगलादेशमा रहँदा नेपालले स्थानीय टिमसँग ३ वटा अभ्यास खेल खेल्नेछ।
एसिया छनोट २ मंसिरदेखि सुरु हुनेछ। छनोटमा नेपालसहित चीन, हङकङ थाइल्यान्ड र युएईले प्रतिस्पर्धा गर्नेछन्। राउन्ड रोविन लिगमा हुने लिगको शीर्ष टिम नेदरल्यान्ड्समा हुने विश्व महिला टी–२० छनोट प्रतियोगिताका लागि छानिनेछ। एसिया छनोटमा यसअघि मलेसियाले पनि खेल्ने बताइए पनि अब भने ५ टिमबीच मात्र खेल्ने प्रशिक्षक थापाले जानकारी दिए।
छनोट प्रतियोगितामा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ। ६ टिम भने छनोट भइसकेका छन्। जसमा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, नेदरल्यान्ड र युगान्डा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।