परासी– शान्ति अभियान नेपाल नवलपरासी शाखाका अध्यक्ष अनुप न्यौपानेलाई बङ्गलादेश सरकारले ‘अन्तर्राष्ट्रिय युवा र शान्ति अवार्ड, २०१८’ बाट सम्मान गरेको छ।
युवा तथा शान्ति स्थापनाको क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै बङ्गलादेशको युवा तथा खेलकूद मन्त्रालयले नेपालका २२ वर्षीय न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरेको हो।
बङ्गलादेशले यो पुरस्कार युवा तथा शान्तिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनेलाई प्रदान गर्दै आएको छ। यसैगरी शान्ति अभियान नेपाल नवलपरासीकै महासचिव लिन्डा कालामगर र कार्यकारी सदस्य सिराज परियार पनि सोही पुरस्कारबाट सम्मानित भएका छन्।
बङ्गलादेशकै सोसाइटी फर इनभाइरोमेन्ट एन्ड डेभलप्मेन्ट अबजर्भर नामक गैरसरकारी संस्थाले बालबालिकाको क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै पश्चिम नवलपरासीको सुनवल निवासी गौरव गैरे र सविना सुनारलाई पनि ‘अन्तर्राष्ट्रिय शान्ति पुरस्कार’बाट सम्मान गरेको अध्यक्ष न्यौपानेले जानकारी दिए।
पश्चिम नवलपरासीको सुनवल निवासी न्यौपानेले दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया, म्यानमार, बङ्गलादेशलगायतका देशमा पुगेर नेपालको शान्ति प्रक्रियाबारे विश्वमा सन्देश फैलाउने काममा सक्रिय छन्। त्यहाँका नागरिकलाई शान्ति निर्माण प्रक्रिया र त्यसपछिको अवस्थाका बारेमा उनले विभिन्न कार्यक्रममा प्रस्तुति दिने अवसर पाएका थिए।
शान्ति प्रक्रियामा युवा र बालबालिकालाई कसरी परिचालन र सहभागी गराउन सकिन्छ भनेर पनि उनले धेरै देशका यो क्षेत्रमा काम गर्ने व्यक्तित्वसमक्ष आफ्ना विचार राख्दै आएका छन्।
अनुप यसअघि इन्टरनेसनल युनाइटेड नेसन मोडुल प्रोग्राममा एसिया क्षेत्रबाट उत्कृष्ट ५ सय युवामा छनोट पनि भएका थिए। संयुक्त राष्ट्रसङ्घको सर्वाेच्च पद महासचिव हुने लक्ष्य आफूले लिएको उनी बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।