पेरिस- फ्रान्सले जापानी तथा फ्रान्सेली कार कम्पनीहरू, निशान र रेनल्टलाई एउटै कम्पनीमा मिसाउने (मर्जर) प्रस्ताव अघि सारेको जापानी सञ्चारमाध्यमले आइतबार बताएका छन्। निशानका अध्यक्ष कार्लोस गोउनलाई आर्थिक अनियमितता गरेको आरोपमा पक्राउ गरेपछि फ्रान्सले उक्त प्रस्ताव ल्याएको हाे।
तर, फ्रान्सका वित्तमन्त्रीले भने वर्तमान संरचनालाई परिवर्तन गर्ने औपचारिक प्रस्ताव तयार भैनसकेको बताएका छन्।
जापानी निशान, मित्सुबिसी र फ्रान्सको रेनल्टबीच शक्तिशाली गठबन्धन गराएर नेतृत्व सम्हालेका गोउनलाई गत वर्षको नोभेम्बरमा आर्थिक अनियमितता गरेको आरोपमा पक्राउ गरिएपछि नेतृत्वबारे विवाद देखिएको छ।
रेनल्टका निर्देशकसमेत रहेका मार्टिन भियालको नेतृत्व रहेको प्रतिनिधिमण्डलले जापानी अधिकारीलाई टोकियोमा दुई कम्पनीलाई विलय गराउने प्रस्ताव गरेको जापानी समाचार संस्था, क्योदो न्युज एजेन्सीले यस मामिलामा जानकार स्रोतलाई उद्धृत गरी समाचार लेखेको छ।
रेनल्टमा फ्रान्स सरकारको सबैभन्दा बढी अर्थात् १५ प्रतिशतभन्दा बढि सेयर रहेको छ भने जापानी निशान कम्पनीमा रेनल्टको ४३.४ प्रतिशत सेयर रहेको छ।
'दुबैलाई मिलाउने प्रस्ताव फ्रान्सका राष्ट्रपतिको इच्छाअनुसार आएको हो', क्योदोले लेखेको छ।
जापानको आर्थिक दैनिक निक्केईले पनि फ्रान्सको प्रतिनिधिमण्डलले दुई कम्पनीलाई एक (विलय) गराउने प्रस्ताव गरेको तर निशानले उक्त प्रस्तावमाथि विरोध जनाएको लेखेको छ।
यसबारे जान्न फ्रान्सका वित्त मन्त्रालयका प्रवक्तालाई सम्पर्क गर्दा जापानी सञ्चारमाध्यममा आएका प्रतिक्रियाबारे कुनै उत्तर दिन नचाहेकाे एएफपीले लेखेकाे छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।