टोकियो- विश्वका सवैभन्दा वृद्ध मानिस मासानो नोनाकाको आइतबार निधन भएको छ।
विमानको आविस्कार गर्ने राइट्स दाजुभाईभन्दा दुई वर्षपछि जन्मेका नोनाकाको १ सय १३ वर्षको उमेरमा मृत्यु भएको जापानी सञ्चारमाध्यमले जनाएका छन्।
गिनिज बुक अफ वर्ल्ड रेकर्डस्का अनुसार नोनाकाको जन्म सन् १९०५ को जुलाईमा भएको थियो। उनको जन्म अल्वर्ट आइन्स्टाइनद्वारा प्रतिपादन गरिएको सापेक्षताको सिद्धान्तको प्रकाशन हुनुभन्दा केही महिना पहिले भएको थियो।
गत वर्ष स्पानियार्ड फ्रान्सिसको नुनेज ओलिभेराको मृत्यु भएपछि वृद्ध जीवित मानिसहरूमध्ये सबैभन्दा पाका व्यक्तिका रूपमा गिनिजले नोनाकालाई औपचारिक मान्यता दिएको थियो।
'हामीलाई विश्व प्रसिद्ध जापानी नागरिक नोनाकाको निधनले दुःखी तुल्याएको छ। उहाँ शनिबारसम्म सामान्य जीवन बिताइरहनुभएको थियो। परिवारका सदस्यलाई समेत कुनै बोझ नबनीकन आइतबार देहत्याग गर्नुभएको छ,' उनकी नातिनी युकोलाई उद्धृत गर्दै क्योदो समाचार समितिले जनाएको छ। ६ भाइ र एक बहीनीकी धनी नोनाकाले सन् १९३१ मा विवाह गरेका थिए। कालान्तरमा उनी ५ सन्तानका बाबु बनेका थिए।
उनले आफ्नै गाउँमा ‘हट स्प्रिङ इन’ (होटेल) सञ्चालन गरेका थिए। उनकोे जीवनको उत्तरार्द्धमा टेलिभिजनमा कुश्ती हेर्ने र मिठाइ खाने सोख रहेको पारिवारिक स्रोतले बताएको छ।
सामान्यतया जापानीहरूको दीर्घजीवन हुने गर्दछ। विश्वका धेरै बर्षसम्म बाँच्ने मानिसहरूको सूचीमा कैयौँ जापानी नागरिकको सूची रहेको बताइने गरिन्छ।
जापानी नागरिक जिरोमी किमुरा, जसलाई सबैभन्दा धेरै बाँच्नेमध्येका व्यक्तिका रूपमा मानिन्छ, को ११६ वर्षको उमेरमा सन् २०१३ मा निधन भएको थियो।
प्रमाणितरूपमा इतिहासमा सबैभन्दा धेरै बाँच्ने व्यक्ति फ्रान्सका जेनी लुइस कालमेन्टको सन् १९९७ मा १ सय २२ वर्षको उमेरमा निधन भएको थियो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।