राजविराज– डा सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका ४ जना कार्यकर्तालाई सप्तरी प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ।
राजविराज नगरपालिका ११ फर्सेटका २३ वर्षीय श्याम कुमार यादव, १९ वर्षीय सरोज कुमार यादव, सप्तकोसी नगरपालिका–१० का १९ वर्षीय अविनास पण्डित र तिलाठी कोइलाडी गाउँपालिका–२ का २८ वर्षीय शुशिल मण्डललाई ‘बालबालिका ऐन २०७५’ अन्तर्गत ‘बालबालिका दुरुपयोग कसुर’ मा मुद्दा चलाउन लागिएको हो।
बलिदान दिवस मनाउने क्रममा शनिबार चारै जनालाई झलही पुल आसपासबाट पक्राउ गरिएको थियो। उनीहरुको साथबाट ‘फ्रि मधेस’ लेखिएको ब्यानर बरामद भएको एसपी राजेन्द्र विष्टले जानकारी दिए।
उनीहरूले विद्यालय जाने उमेरका बालबालिकालाई प्रलोभनमा पारेर कार्यक्रममा सहभागी गराएको पाइएपछि पक्राउ गरिएको विष्टले बताए।
उनीहरूको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।