जनकपुर– घरमा बालेको घुरबाट आगलगी हुँदा सर्लाहीको बलरा नगरपालिका–८ गडहियामा ६ घर जलेर नष्ट भएको छ। आगलागीबाट रु १८ लाखभन्दा बढीको क्षति भएको छ।
स्थानीय इशा महमदको आँगनमा बालिएको घुरबाट आगो सल्किँदा महमदसहित किताब लहेरी, सलिम लहेरी, मञ्जुर लहेरी, जाजुल लहेरी र अकबर लहेरीको घर जलेर नष्ट भएको छ।
आगलगीबाट करिब १८ लाख ७५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
इशा महमदको इँटा र फुसले छाएको घर, घरमा रहेको अन्नपात, लत्ताकपडा पूर्णरूपमा जलेर १० लाख बराबरको क्षति भएको छ। किताब लहेरीको फुसको घर, घरमा रहेको बाख्रा, खसी, पाडी जल्दा करिब तीन लाख बराबरको क्षति भएको छ।
सलिम लहेरीको फुसको घर पूर्ण रुपमा जलेर २ लाख ७५ हजार बराबरको क्षति भएको छ।
त्यस्तै मन्जुर लहेरीको घरको छानो जली करिब १ लाख बराबरको क्षति भएको छ।
जाजुल लहेरीको ५ बाख्रा र घरमा आंशिक क्षति पुगेर करीब ५० हजारको क्षति भएको छ भने अकबर लहेरीको फुसको घर पूर्णरूपमा जल्दा १ लाख ५० हजार बराबरको क्षति भएको सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए।
स्थानीयबासी, प्रहरी र मलङ्गवा नगरपालिकाबाट गएको वारुणयन्त्रले आगो नियन्त्रणमा लिँदा थप क्षति हुनबाट जोगिएको बलरा नगरपालिका प्रमुख अभय सिंहले जानकारी दिए। पीडितलाई नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रमुख सिंहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।