काठमाडाैं- नेपाल प्रहरीले सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकामाथिको हिंसा अन्त्यका लागि पनि अभियाननै सञ्चालन गर्ने भएको छ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकाको हिंसा अन्त्यका लागि अभियाननै सञ्चालन गर्ने घोषणा गरेका हुनन्। उनले त्यसका लागि महिला सञ्जाल र महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत संघ, संस्थाहरुसँग सहकार्य गरेर अघि बढ्ने योजना पनि अघि सारे।
आइतबार महानगरीय परिसर, टेकूकै हाताभित्र निर्माण गरिएको नागरिक सहायता कक्ष भवनको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीले शान्ति सुरक्षालाई सुदृढ बनाउने र समाजको विकासमा पनि योगदान गर्दै लैजाने योजना एकैसाथ अघि बढाउन चाहेको समेत स्पष्ट पारे। उनले नागरिकको सहायताबिना नेपाल प्रहरीले अपराध अनुसन्धानलगायतका कुनै पनि दायित्व पूरा गर्न नसक्ने पनि दोहोर्याए।
प्रहरी महानिरीक्षक खनालले नेपालमा प्रहरी र नागरिक समाजबीचको सम्बन्ध विकसित देशहरुको भन्दा सुमधुर रहेको पनि बताए। सो भवन नेपाल बंगलादेश बैंकको १९ लाख ५० हजार आर्थिक सहायतामा निर्माण गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।