काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली स्विट्जरल्यान्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९औं वार्षिक बैठकमा सहभागी हुन आज (आइतबार) त्यसतर्फ प्रस्थान गर्ने भएका छन्।
माघ ८ देखि ११ गतेसम्म हुने उक्त वार्षिक बैठकका दुई वटा सत्रलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पहिलोपटक प्रधानमन्त्री ओलीले सो बैठकमा सहभागिता जनाउन लागेका हुन्।
स्विट्जरल्यान्ड भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका राजनीतिक नेतृत्व तथा व्यवसायीसँग भेटवार्ता गर्नेछन्। भ्रमण टोलीमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा युवराज खतिवडालगायतका उच्च अधिकारी रहनेछन्।
साताव्यापी भ्रमणका लागि जान लागेकाे प्रधानमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डल माघ १२ मा स्वदेश फर्किने परारष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।