-अशोक घिमिरे/रासस
काठमाडौं– वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले आइतबारदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि श्रम स्वीकृतिलगायत सेवा प्रदान गर्ने भएको छ।
कर्णाली प्रदेशको श्रम तथा रोजगार रोजगार कार्यालयबाट पुनःश्रम स्वीकृतिको सेवा प्रदान गरिने श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयले जनाएको छ। श्रम स्वीकृतिका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भइसकेको छ।
श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनःश्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवम् अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिने छ। सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवम् गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायत कार्य ती कार्यालयबाटै सम्पादन हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले जानकारी दिए।
यसवर्षको बजेट भाषणमै प्रत्येक प्रदेशमा श्रम कार्यालय स्थापना गर्ने घोषणा गरिएको थियो। त्यसलगत्तै सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि प्रदेशबाटै पुनः श्रम स्वीकति प्रदान गर्ने निर्णय लिएको हो।
मन्त्रालयले पहिलो चरणमा गत पुस १५ गतेदेखि प्रदेश २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश ५ को बुटवलबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराएको थियो। त्यस्तै सरकारले गत पुस २५ गतेदेखि गण्डकी प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट पनि श्रम स्वीकृतिलगायत यससँग सम्बन्धित सेवा प्रदान गर्न थालेको थियो।
अब बाँकी प्रदेशका श्रम तथा रोजगार कार्यालयमा पनि वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रवाह गर्ने गरी आवश्यक व्यवस्था अन्तिम चरणमा पुर्याइएको र छिट्टै ती कार्यालयबाट सेवा प्रवाह गरिने तयारी रहेको संयोजक खनालले जानकारी दिए।
प्रदेशबाटै श्रम स्वीकृतिको व्यवस्था भएसँगै श्रम स्वीकृतिकै लागि राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ। श्रम कार्यालय स्थापनासँगै कर्णालीबासीले समय र पैसा खर्चेर काठमाडौं आर्इ श्रम स्वीकृति लिनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ।
वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने व्यवस्था एकै ठाउँबाट मात्र हुँदा सेवाग्राहीले निकै झन्झट व्यहोर्नु परिरहेको थियो। यसअघि दैनिक २ हजार भन्दा बढीको सङ्ख्यामा युवा श्रम स्वीकृतिका लागि ताहाचलस्थित श्रम कार्यालय पुग्ने गरेका थिए। सेवाग्राहीको भीड अत्यधिक भएको अवस्थामा प्रहरीले हस्तक्षेप गर्नुपर्ने अवस्थासमेत देखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।