जनकपुर– प्रदेश—२ मा अहिले ‘झापड प्रकरण’ चर्चाको विषय छ। केही दिनअघि मात्रै प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानन्द झा सोही प्रदेशकै आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवबाट कुटिएका थिए।
यसअघि गत असोजमा पनि यस्तै घटना सतहमा आएको थियो। त्यो घटना हो– मेयरद्वारा लेखापालमाथि कुटपिट।
गत असोजमा लेखापाल पवनकुमार अधिकारीलाई कुटेका महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जीवकुमार साह अहिले मुद्दाको तारिख धाइरहेका छन्। आफू माथि अभद्र व्यवहार भएको भन्दै मेयर साहमाथि अधिकारीले मुद्दा हालेका थिए। लेखापाल अधिकारीको मुद्दामा हाल मेयर साहले तारेख खेपिरहेका छन्।
हिसाब नदिएको झोकमा १० असोज, २०७५ मा भंगहाका मेयर साहले लेखापाल अधिकारीलाई कुटपिट गरेका थिए। आर्थिक वर्ष २०७४/०७५ मा भएको खर्चको हिसाब नदिएको आक्रोशमा मेयरले लेखालाप अधिकारीलाई कुटपिट गरेका थिए।
प्रमुख जिल्ला अधिकारी उमेश ढकालको निर्देशनमा कर्मचारी कुटपीट गर्ने मेयरविरुद्ध गत असोज १४ गते जिल्ला प्रहरी कार्यालय जलेश्वरमा उजुरी दर्ता भएको थियो।
सार्वजनिक शान्ति कसुरअन्तर्गत बाधाविरोध शीर्षकमा मेयरविरुद्ध मुद्दा दर्ता भएपछि पक्राउ पर्ने डरले मेयर साह भागेर भारत गएका थिए।
तत्कालीन समयमा प्रहरीले पक्राउ पुर्जी जारी गर्दा पनि उनी पक्राउ पर्न सकेनन्। मेयरविरुद्ध दर्ता गरिएको मुद्दाको प्रतिवेदन अनुसन्धानपश्चात् प्रहरीले गत मंसिर १८ गते जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो।
घटना साम्य नहुने देखेपछि मेयर साह तीन महिनापछि जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएका थिए। जिल्ला प्रशासन कार्यालय, महोत्तरीका मुद्दा शाखाका नायवसुब्बा राजाराम मण्डलले भने, ‘मेयरसाब पुस २० गते प्रशासन कार्यालयमा हाजीरी जनाउन आउनुभएको थियो। उहाँको अर्को तारेख माघ १० गतेका लागि तय भएको छ।’
करीब ४ महिनाअघि आवेशमा आएर गरेको व्यवहारप्रति हाल मेयर साह पश्चाताप गर्छन्। ‘उनीसँग हिसाब मागेँ तर, उनले दिन आलटाल गरे। मैले सम्झाएँ पनि। उनले टेरेनन् अनि आवेश पोखियो’, मेयर साहले घटना सम्झिँदै भने, ‘त्यतिबेला आवेशमा आइयो र त्यस्तो कार्य गरियो, मेरोतर्फबाट नहुनुपर्ने काम भयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।