धनुषा– जनकपुरमा करेन्ट लागेर २ जनाको घटनास्थल मै मृत्यु भएको छ।
मृत्यु हुनेमा सिरहाको विष्णुपुर नगरपालिका–४ बस्ने रामअवतार साहका २७ वर्षीय छोरा जगरनाथ साह र धनुषाको मिथिलाबिहारी नगरपालिका–९, मिथिलेश्वरका परमेश्वर मण्डल छन्।
जनकपुर उपमहानगरपालिका–१२ कुवारामपुरमा पोललाई अड्याउनको लागि बाँधिएको तारमा प्रवाहित करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो।
मोटरसाइकल सडकबाट चिप्लिएर नजिकैको बिजुलीको पोलमा ठोक्किँदा उक्त घटना भएको हो। पोललाई सपोर्टको लागि बाँधिएको तारबाट करेन्ट प्रवाह भएर घटना भएको प्रहरीले जनाएको छ।
जग्गा निरिक्षण गर्नजाने क्रममा ज९प ७७०९ नम्बरको मोटरसाइकलमा सवार दुबै जनाको दुर्घटनापछि करेन्ट लाग्दा मृत्यु भएको हो। सुरुमा एक व्यक्तिलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा अर्को व्यक्तिलाई पनि करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
उनीहरुलाई बचाउन गएका अर्का व्यक्ति सिरहा विष्णुपुर गाउँपालिका थलहाका निवासी सूर्यनारायण ठाकुरलाई पनि करेन्ट लागेर घाइते भएका छन्। उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए।
नेपाल विद्युत प्राधिकरण धनुषाको लापरबाहीले मानवीय क्षति भएको स्थानीयले आरोप लगाएका छन्।
मृतक दुबै जना जग्गा व्यापारी रहेको खुलेको छ। उक्त घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।