काठमाडौं- खोज पत्रकारिता केन्द्र (खोपके) ले दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट (आइसिआइजे) को सहकार्यमा तयार पारेको 'नेपालिक्स' रिपोर्टमाथि व्यापारी अरुणकुमार चौधरीले ध्यानाकर्षण भएको जनाएका छन्।
चौधरी परिवारका सदस्यहरुको व्रिटिस भर्जिन आइल्यान्डमा अर्सिन लिमिटेड कम्पनी दर्ता भएको भनी उल्लेख गरिएको रिपोर्टमा ध्यानाकर्षण भएको उनले विज्ञप्तिमार्फत जनाएका छन्। आफू, श्रीमती शिला, छोराहरु करण र सुर्यान्सको नाममा उक्त कम्पनी आइल्यान्डमा दर्ता नै नभएको उनले स्पष्ट पारेका छन्।
'हाम्रो कुनै पनि स्वीस बैंकमा खाता छैन, कुनै पनि पनि ट्याक्स हेवन मुलुकमा कम्पनी दर्ता छैन र हाम्रो सिजी होल्डिंग्स समूहले प्रवर्धन गरेका कुनै पनि कम्पनीमा ट्याक्स हेवन मुलुकबाट लगानी आएको छैन,' उनले विज्ञप्तिमा भनेका छन्।
जुन देशमा आफ्नो परिवारको नाममा कम्पनी छ भनेर दाबी गरिएको छ, त्यहाँ हाम्रा परिवारका कुनै सदस्यले अहिलेसम्म यात्रासमेत नगरेको चौधरीले दाबी गरेका छन्।
'मेरो नाममा स्वदेशमा अस्तित्वमा रहेका कम्पनीहरुमा म र मेरो श्रीमती बाहेक अरु कसैको नाममा सेयर समेत छैन,' उनले भनेका छन्, 'हाम्रा बच्चा धेरै सानो हुँदा बेलायतका साथीहरुले छोराहरुलाई बेलायतमा पढाउने हो भने कम्पनी खोल भनेका थिए हामीले खोलेनौं।'
पुरानो र आधारहीन कुरालाई पुनः बाहिर ल्याएर देशकै एक प्रतिष्ठित व्यवसायिक घरानाको सार्वजनिक छविमा क्षति पुर्याउन खोजिएको भन्दै उनले आपत्ति जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।