वासिङटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको दोस्रो शिखर सम्मेलन आउदो फेब्रुअरी अन्त्यमा हुने अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ।
उत्तर कोरियाको सत्तारुढ दल कोरियन वर्कर्स पार्टीको केन्द्रीय कमिटिका उपाध्यक्ष किम योङ चोलसँग ओभल अफिसमा अमेरिकी राष्ट्रपति ट्रम्पको भेटपछि राष्ट्रपतिको कार्यालयले यस्तो बताएको हो।
'राष्ट्रपति ट्रम्पले किम योङ चोलसँग साढे एक घन्टा बैठक गर्नुभयो, बैठकमा आणविक हतियार निःसशस्त्रीकरण र दोस्रो शिखर सम्मेलनका बारेमा छलफल भएको छ,' ह्वाइट हाउसका सञ्चार सचिव सराह सन्डेर्सले भने।
दशकौँदेखि उत्तर कोरिया र अमेरिकाबीच जारी द्वन्द्वको अन्त्यको वार्ताको लागि चोलको नेतृत्वमा उत्तर कोरियाली उच्च अधिकारीको टोली वासिङ्टन भ्रमण आएको छ।
उत्तर कोरियाली सेनाका ती उच्च सैन्य जर्नेल चोल उत्तर कोरियाली सरकारका एकजना प्रभावशाली व्यक्ति मानिन्छन्। उनी उत्तर कोरियाली नेता किम जोङ उनको विश्वास पात्रका रुपमा काम गरिरहेका उच्च सैन्य अधिकारी हुन्।
उनले ट्रम्प र अमेरिकी उच्च अधिकारीहरुसँग विषेश गरेर दोस्रो शिखर सम्मेलनकै बारेमा छलफल गरेका थिएर
किमको गत नोभेम्बरको सुरुमा नै वासिङटनको भ्रमण गर्ने समय तालिका रहेको थियो। तर त्यस समयमा अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा चिसोपना आएपछि सो भ्रमण रद्द भएको थियो।
किम जोङ उनले नयाँ वर्षको शुभकामनाको पत्र अमेरिकी राष्ट्रपति ट्रम्पलाई पठाएपछि पुनःसम्बन्धका नयाँपन आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।