राजविराज– सप्तरीको कञ्चनरुप नगरपालिकमा जंगली हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ। कञ्चनरुप नगरपालिका ११ निवासी नन्दकिशोर मण्डलकी ५३ वर्षीया पत्नी कौशल्यादेवीको हात्तीले कुल्चेर मृत्यु भएको हो।
बिहान करिब २ वजे गाउँ पसेको हात्तीले घर भत्काउन थालेपछि भाग्ने क्रममा कौशल्यालाई हात्तीले आक्रमण गरेको स्थानीयले बताए। हात्तीले टाउकोमा किचेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो।
हात्तीले आक्रमण गरेको जानकारीपछि गाउँ पुगेको प्रहरीले कौशल्यालाई मृत अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय कञ्चनपरले जनाएको छ। स्थानीयले उक्त हात्तीलाई भने लखेटेका छन्।
शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा पठाइएको छ।
मृतकका २ छोरा र १ छोरी छन्।
यसअघि गत वर्ष फागुन १ गते कञ्चनरुप नगरपालिका ५ पथरी टोलका नारायण साहकी पत्नी ३५ वर्षीया मञ्जुदेवी र टिर्हा मुखियाकी पत्नी ४५ वर्षिया पत्नी दुर्गीदेवीको हात्तीकै आक्रमणमा परी मृत्यु भएको थियो। दाउरा खोज्दै गरका उनीहरुलाई हात्तीले लखेटेर आक्रमण गरेको थियो।
सप्तरीमा हात्ती लगायतका जंगली जनावरको आक्रमणमा परी यसअघि कञ्चनरुप नगरपालिका–१० बदगामाकी ७० वर्षीया फूलवादेवी यादव, हनुमाननगर सञ्जय साफी र रोशनकुमार झा, भारदहका रघुनाथ खंग, बैरवाका अल्लाउद्दिन खाँ, कमलपुरकी संगीता यादव, कञ्चनरुप नगरपालिका–१० का सत्यनारायण यादवकी १३ वर्षीया छोरी सङ्गीता यादव लगायतको मृत्यु भइसकेको छ।
सप्तरीमा पछिल्लो समय जंगली हात्तीको आतंक बढेको छ। कोशीटप्पु वन्यजन्तु आरक्षका हात्ती, अर्ना, बँदेल लगायतका वन्यजन्तुबाट पूर्वी भेगस्थित भारदह, कञ्चनपुर, पोर्ताहा, बरमझिया, वैरवा, जोगिनिया, हनुमाननगर, फत्तेपुर, ओद्राहा, कमलपुर, धरमपुर, घोघनपुर, रुपनगर ठेलिया, जगतपुर, महुली लगायत ठाउँका जनता पीडित हुँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।