राजविराज– गत बैसाखमा सरकारले तामझामसहित देशैभर विद्यार्थी भर्ना अभियान चलायो।
अभियानमा प्रधानमन्त्री केपी ओली आफैं संलग्न भए। मन्त्री, पूर्वमन्त्री लगायतको सक्रियताले अभियानले निकै चर्चा पनि पायो।
सप्तरीमा पनि शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहितका विशिष्ट व्यक्तिहरूले ५ जना दलित बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै अभियानको सुरुवात गरे।
राजविराज ९, मलेठ स्थित (गढिया) मुसहरी टोलका टिङ्कु मरिक, श्यामसुन्दर सदाय (सुन्दर), राजकुमार सदा, कृपानन्द सदा र सुरजकुमार सदा स्थानीय जनता राष्ट्रिय प्राविको कक्षा १ मा भर्ना भए।
तत्कालीन जिल्ला शिक्षा कार्यालयको तथ्यांकअनुसार सप्तरीका कुल २३ हजार ३ सय ७५ बालबालिकामध्ये अभियान अन्तर्गत १८ हजार ४ सय ५२ बालबालिका विद्यालय भर्ना भए। तर, विद्यालय भर्ना भएका कतिपय विद्यार्थी अहिले विद्यालय जाँदैनन्।
अभियानमार्फत भर्ना भएर विद्यालय नजाने मध्येका एक हुन्, राजविराज ९, मलेठ स्थित (गढिया) मुसहरीकै राजाकुमार सदा। उनलाई पूर्व सिँचाइ मन्त्री उमेशकुमार यादवले विद्यालय भर्ना गराएका थिए।
‘कार्यालय सहयोगीलाई पठाएर धेरै दिन विद्यालयमा ल्यायौँ,’ विद्यालयका प्रधानाध्यापक श्यामसुन्दर पासवान भन्छन्, ‘तर, सधैँ घर–घरमा पुग्न सम्भव नभएपछि केही विद्यार्थीले विद्यालय छोडे।’
समस्या राजाकुमारको मात्रै होइन, मुसहरीकै धेरै बालबालिका गएनन्। यस विषयमा विद्यालयले सबै अभिभावकलाई जानकारी गरायो। अधिकांशले यो विषयमा चासो नदेखाए पनि पूर्व मन्त्री यादवले भने विद्यालय नजाने बालबालिकालाई लक्षित गरी नयाँ अभियान सुरु गरेका छन्।
आफूले जिम्मा लिएर भर्ना गराएका बालकसहित मुसहर टोलका प्रायः बालबालिका विद्यालय नगइ कुलतमा फस्न थालेको सुनेपछि उनले गाउँमै पठन–पाठनको व्यवस्था मिलाइएका छन्।
डेढ महिना अघिदेखि सुरु गरिएको कक्षामा अहिले करिब ६० जना मुसहर बालबालिका सहभागी भएको स्वयंसेवक स्थानीय कृपानन्द सदाले बताए।
करिब ४० जना बालबालिका रहेको अर्को टोलमा भने यादवले आफैं कक्षा सञ्चालन गर्न थालेका छन्। ‘एउटा कक्षा डेढ महिनाअघि देखि नै चलिरहेको छ, त्यसका लागि शिक्षक नियुक्त गरेको छु,’ यादव भन्छन्, ‘अर्को टोलमा मैले आफैं पढाउन सुरु गरेको छु।’
मुसहर समुदायमा शिक्षाको स्तर उकास्ने र बालबालिकालाई पढाइप्रति आकर्षित गराउने उदेश्यले अभियान सुरु गरेको यादवले जानकारी दिए। ‘मुसहर बालबालिकाले पढेनन् भन्ने एउटा समस्या हो, त्यो भन्दा ठूलो समस्या चाहिँ कुलतमा लाग्लान् भन्ने देखियाे,’ उनले थने, ‘पढाइप्रति आकर्षण बढाउनुका साथै कुलतमा लाग्न नदिन यो अभियानले मद्दत गर्छ भन्ने लागेको छ।’
नेकपाका नेतासमेत रहेका यादवले गाउँमै बालबालिकाको पढाइ–लेखाइ सुरु गरेपछि स्थानीय अभिभावक भने खुसी भएका छन्। ‘छिमेकीका छोरा/छोरी विद्यालय र ट्युसन जाँदा त्यसै गर्ने इच्छा हुन्थ्याे,’ हरिलाल सदा भन्छन्, ‘अब बिनापैसा गाउँमै पढाउन पाउँदा खुसी लागेको छ।’
जनता राष्ट्रिय प्राविका प्रधानाध्यापक श्यामसुन्दर यादवले भने मुसहर बालबालिकासँगै अभिभावकका लागि पनि चेतनामूलक कार्यक्रम सञ्चालन गर्न सके उपयोगी हुने सुझाव दिएका छन्।
‘कतिपय बालबालिका अभिभावकको बेवास्ताका कारण पनि विद्यालय जाँदैनन्,’ उनी भन्छन्, ‘त्यस्ता अभिभावकलाई शिक्षाको आवश्यकताका विषयमा जानकारी दिन सके अझै उपयोगी हुने थियो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।