काठमाडौँ– भारतका लागि प्रस्तावित नेपाली राजदूत निलाम्बर आचार्यका नाममा सहमति प्राप्त भएको छ। परराष्ट्र मन्त्रालयले जनाए अनुसार आचार्यका नाममा शुक्रबार भारतबाट एग्रिमो आएको हो।
गत कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई भारतको राजदूत पदमा सिफारिस गरेको थियो। त्यसअघि सिफारित पूर्व निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीका विषयमा विवाद उत्पन्न भएपछि आचार्यलाई सिफारिस गरिएको थियो।
गत संसदीय निर्वाचनमा सहभागी हुन तत्कालीन राजदूत दीपकुमार उपाध्यायले राजीनामा दिएपछि भारतस्थित नेपाली दूतावास नेतृत्वविहीन अवस्थामा रहेको थियो। मन्त्रिपरिषद्ले राजदूत सिफारिस गरेको आचार्यमाथि गत मंसिर २३ गते संसदीय सुनुवाइ भएको थियो। संसदीय सुनुवाइ भएको डेढ महिनापछि आचार्यको नाममा भारतले सहमति पठाएको हो।
आचार्य नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) का नेपालतर्फका एक सदस्य हुन्। समूहलाई नेपाल-भारत १९५० शान्ति तथा मैन्त्री सन्धि तथा अन्य असमान सन्धि सम्झौताका विषयमा पुनः मूल्याकन गर्ने अख्तियारी दिई दुई वर्षको समयसीमा दिइएको थियो। समूहले गत असारमा नै साझा प्रतिवेदन तयार गरे पनि प्रतिवेदन सार्वजनिक हुन सकेको छैन।
लामो समय प्रस्तावित राजदूत आचार्यका विषयमा भारतले कुनै प्रतिक्रिया नदिएपछि गत मंसिर २६ गते भारतको नयाँ दिल्लीमा रायसिना संवादमा सहभागी हुन भारत गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्ना समकक्षी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग यस विषयमा चासो राखेको बुझिएको छ।
आचार्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार भारतका लागि नेपाली राजदूत नियुक्त गर्ने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।