जनकपुर– प्रदेश २ सरकारले पटक पटक भएको मधेस आन्दोलनमा सहिद भएका परिवारका एकजना सदस्यलाई रोजगारी दिने तयारी थालेको छ।
प्रदेश सरकारले सहिद परिवारलाई बलिदानी दिवसको अवसरमा सहिद परिवारलाई रोजगारी दिन सहिदहरूको सूची तयार पारेको मुख्यमन्त्रीका स्वकीय सचिव दीपक यादवले बताए।
सरकारले तयार पारेको सूचीअनुसार पहिलो देखि तेस्रो मधेस आन्दोलनसम्ममा प्रदेशबाट ५६ जना सहिद भएको उल्लेख छन्। शनिबार बलिदानी दिवसको अवसरमा आयोजना गरिने कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले उनीहरूका परिवारका सदस्यलाई रोजगारीको पत्र दिने कार्यक्रम रहेको सचिव यादवले जानकारी दिए।
सहिदका सबैभन्दा नजिकका आफन्तको पहिचान गरी उनीहरूको शिक्षा र दक्षताका आधारमा उचित ठाउँमा रोजगारीसमेत दिइने बताइएको छ।
सूचीमा अटाएका ५६ मध्ये दुई जनाको नाम भने संघीय सरकारले सहिदका रुपमा उल्लेख गरेको छैन। प्रदेश सरकारले भने उनीहरूको नाम पनि आफ्नो सूचीमा राखेको हो।
संविधान घोषणा भएपछि महोत्तरीमा एकजनाले झुन्डिएर आत्महत्या गरेका थिए। उनले संविधान घोषणा भएकोमा असन्तुष्टि जनाउँदै आत्महत्या गरेको बताइन्छ। त्यस्तै सर्लाहीमा प्रहरी र प्रदर्शनकारी बीच झडप हुँदा एक महिलाको किचिएर मृत्यु भएको थियो। यी दुई जनालाई पनि प्रदेश सरकारले सहिद मान्दै उनीहरूको परिवारलाई रोजगारी दिने तयारी गरेको छ।
सहिद परिवारलाई फेला पार्न र उनीहरूका बारेमा जानकारी संकलन गर्न मुख्यमन्त्रीका स्वकीय सचिव यादवकै नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो। पुस ५ गते काम सुरु गरेको समितिले सहिद भएकाको विस्तृत विवरण संकलन गरेको हो। समितिले आन्दोलनमा घाइते भएकाहरूको पनि विवरण संकलन गरेको छ।
आन्दोलनमा घाइते भएकाहरूलाई उनीहरुको अवस्था अनुसार फरकफरक समूहमा राखिएको छ। प्रदेश सरकारले प्रदेशबाट ८२ जना घाइतेको नाम संकलन गरेको छ। बलिदानी दिवसका अवसरमा आन्दोलनका घाइतेलाई पनि सहयोग गरिनेछ।
प्रदेश सरकारले सिरहाको लहानमा बलिदानी दिवस मनाउने भएको छ। मधेस आन्दोलनका क्रममा २०६३ माघ ५ गते रमेश महतोले सहादत प्राप्त गरेको स्मरणमा प्रत्येक वर्ष मधेसवादी दलले बलिदानी दिवस मनाउँदै आएका छन्। महतोकोे लहानमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो।
महतोको मृत्यु भएपछि पहिलो मधेस आन्दोलन चर्केको थियो। १९ दिनसम्म चलेको पहिलो मधेस आन्दोलनमा मुलुकभरमा गरी ५४ जना सहिद भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।