जनकपुर– प्रदेश २ को चुरे क्षेत्रका बासिन्दाले चुरे संरक्षण गर्नको लागि शुक्रबार प्रदेश सरकालाई ज्ञापन पत्र बुझाएका छन्।
चुरे दोहन भएको भन्दै तराई मरभूमि हुने खतराबाट जोगाउनको लागि भौतिक पूर्वधार मन्त्रालयका मन्त्री जितेन्द्र सोनललाई ध्यानाकर्षण गराइएको छ।
‘चुरे तराई मधेश जोगाऊ, तराई मधेश मरुभूमि हुनबाट बचाऊ’ भन्ने मूल नाराका साथ चुरे मधेश विकास मञ्च जनकपुरले र्याली प्रदर्शनसहित सरकारलाई ज्ञापन पत्र बुझाएको हो।
चुरे दोहनले मानव जीवन संकटमा परेको मञ्चका अध्यक्ष सुनिलकुमार यादवले बतााए। ‘जलवायु परिवर्तन भएको महसुस भएको छ,’ उनले भने, ‘पानी पर्ने समयमा पर्दैन, नपर्ने समयमा अधिक पानी पर्छ। यो सबै वन फडानीकै असर हो।’
चुरे विनासको नकारात्मक प्रभाव कृषि उत्पादन, जीवजन्तुमा परेको उनले बताए।
ध्यानार्षण पत्र बुझ्दै प्रदेश २ का भौतिक पूर्वधार मन्त्री जितेन्द्र सोनलले चुरेप्रति सरकार गम्भीर रहेको बताए। ‘चुरे संरक्षण मधेशको लागि मात्र होइन, देशकै लागि चासोको विषय हो,’ मन्त्री सोनलले भने, ‘चुरे संरक्षणले नेपाल, भारत र बंगलादेशको अस्तित्व रक्षा गर्दछ।’
तराई मधेशको चुरे जोगाउन प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम बनाएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।