जनकपुर– प्रदेश–२ को नाम र स्थायी राजधानीबारे सुझाव संकलन गर्न जनकपुरमा आयोजित कार्यक्रममा मिश्रित प्रतिक्रिया आएको छ।
संवाद तथा सुझाव आयोगद्वारा आयोजित कार्यक्रममा राजधानीको विषयमा उपस्थित सहभागीबीच एक मत देखिए पनि प्रदेशको नामको सवालमा भने अलगअलग विचार आएको हो।
शिवचोकस्थित वेलकम होटलमा आयोजित कार्यक्रमका सहभागीले जनकपुरधामको आफ्नै प्राचीन इतिहास रहेको बताउँदै पश्चिम बारा पर्सादेखि सप्तरीसम्मका लागि बीचमा पर्ने र सुगम स्थल भएकाले स्थायी राजधानी जनकपुरधामलाई नै बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
नामकरणमा भने कांग्रेस पक्षधर मिथिलाको पक्षमा देखिए भने मधेशवादी दलका नेता तथा समर्थक मधेश वा मध्य मधेशका पक्षमा देखिए।
आयोगका संयोजक डा हरिवंश झाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीले मिथिला, तिरहुत, मिथिला–भोजपुरा, मधेस, मध्य मधेस, जनक–जानकी प्रदेश लगायतका नाम सुझाएका थिए।
कतिपय सहभागीले सुझाब संकलनका नाममा सरकारले प्रदेशमा द्वन्द्व फैलाउने कार्य गरिरहेको आरोपसमेत लगाए।
नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले भने, ‘विगत केही वर्षदेखि शान्त रहेको यो प्रदेशका आठ जिल्लामा फेरि अशान्ति फैलाउने कार्य यो संवाद तथा सुझाव आयोगबाट नहोस्।’
कांग्रेस धनुषाका उपसभापति सन्तोष यादवले आयोगको औचित्यमाथि प्रश्न उठाउँदै भने, ‘प्रदेशको नाम र राजधानीको निर्क्योल प्रदेशसभामा दुई तिहाइबाटै लाग्ने भएकोले यो आयोगले संकलन गरेको सुझावको औचित्य के?’
पत्रकार श्यामसुन्दर शशिले मधेश प्रदेशको नाउँमा मिथिलाको प्राचीनतालाई धुमिल पार्ने षडयन्त्र भइरहेको आरोप लगाए।
कार्यक्रम सुरु भएको केही बेरपछि नै केही युवाले आयोगविरुद्ध नाराबाजी गर्दै कार्यक्रम बहिष्कार गरेका थिए।
मधेश अधिकार संघर्ष समितिका सरोज मिश्र, परिवर्तनका लागि युवा अभियानका सुशील कर्ण लगायतले यस्तो संवेदनशील विषयको कार्यक्रम होटलको बन्द कोठाभित्र गर्न उपयुक्त नहुने भन्दै नाराबाजी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।