बुटवल– नेपाली कांग्रेस प्रदेश–५ संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले आफूले चढ्दै आएको गाडी फिर्ता गरेका छन्।
आफूले चढेको गाडी खरिदमा अनियमितताको आशंका गरिएको भन्दै नेता पोखरेलले आफू चढ्दै आएको आएको लु १ झ ४४७ नम्बरको टाटा स्टोर्म गाडी फिर्ता गरेका हुन्।
उनले प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुन मगरलाई गाडीको चाबी र ब्लुबुक बुझाएका हुन्।
‘यो गाडी खरिदमा अनियमितता र अपारदर्शीता भयो भन्ने प्रश्न उठिसकेपछि मेरो नैतिकताले यो गाडी चढ्न दिएन,’ गाडीको चाबी बुझाएपछि उनले पत्रकारहरूसँग कुरा गर्दै भने।
‘सार्वजनिक लेखा समितिको छानबिनले दोषी देखिएन र प्रतिवेदनले अनियमितता नभएको तथ्य सार्वजनिक गर्यो भने मात्रै म यो गाडी चढ्छु, उनले भने, ‘यो गाडी खरिदको अनियमितता पुष्टि भए यो गाडी चढ्दिनँ।’
आफू चढ्दै आएको गाडी प्रदेश सभा सचिवालयलाई बुझाएपछि सभा परिसरबाट बाहिरबाट इरिक्सा चढेर घर गएका छन्।
रिक्सामा चढेर जाँदै गर्दा उनले भने, ‘म साइकल चढेर हिँडे हुर्केको मान्छे हुँ, इरिक्सा चढेर जान के को लाज।’
कांग्रेस संसदीय दलका नेताले गाडीको चाबी र ब्लुबुक बुझाएपछि सचिवालयका सचिव पुन मगरले गाडी सुरक्षित साथ राख्ने प्रतिक्रिया दिए। यसअघि सार्वजनिक लेखा समितिका सभापति डिल्ली चौधरीले पनि गाडी फिर्ता गरेका थिए।
प्रदेश सभा सचिवालयले दलका नेता, प्रमुख सचेतक, संसदीय समितिका सभापतिलाई गाडी सुविधा दिएको छ।
प्रदेश–५ प्रदेश सभा सचिवालयले खरिद गरेका ११ गाडीमा अनियमितता भएको आशंका छ।
यसैलाई आधार मानेर सार्वजनिक लेखा समितिले उपसमिति बनाइ छानबिन थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।