काठमाडौं- इलाममा १० दिनदेखि आमरण अनसनरत डा गोविन्द केसीलाई आज बिहान ३ बजे त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ। उनको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि हेलिकोप्टरबाट काठमाडौं ल्याई शिक्षण अस्पतालको आइसियूमा भर्ना गरिएको छ।
मुटुको चाल र फोक्सोमा गम्भीर समस्या देखिएपछि उनलाई स्वास्थ्य सेवा दिन विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट अनसनस्थल इलाम गएका विशेषज्ञहरुले आइसियूमा राखेर उपचार गर्न सुझाएका थिए।
डा केसीका मागमा ऐक्यबद्धता जनाउन इलाम पुगेका पूर्वन्यायाधीश सुशीला कार्की, शिक्षाविद् केदारभक्त माथेमा, पूर्व सभामुख दमन्नाथ ढुंगाना, डा अभिषेक सिंहलगायतले डा केसीलाई मनाएर काठमाडौं ल्याएका हुन्।
राति साढे १० बजे इलामबाट एम्बुलेन्समा भद्रपुर र त्यहाँबाट नेपाली सेनाकाे नाइटभिजन हेलिकोप्टरमा काठमाडौं ल्याइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।