काठमाडौं– लोकसेवा आयोगले सरकारले तोकेको नयाँ मर्यादाक्रममाथि विमति जनाएको छ।
बिहीबार बसेको आयोगको बैठकले संवैधानिक निकायका सदस्यको मर्यादाक्रम साविकको जस्तै कायम गर्न सरकारसँग आग्रह गरेको छ। यसअघिको मर्यादाक्रममा संवैधानिक निकायका प्रमुख लगत्तै अन्य सदस्यहरुलाई राखिएको थियो।
आयोगद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक निकायका पदाधिकारीको मर्यादाक्रम साविकको भन्दा निकै तल्लो क्रममा राख्नुले संवैधानिक पदाधिकारीको मात्र अपमान नभई समग्रमा संवैधानिक निकायकै संस्थागत मर्यादामा ह्रास भएको छ।’
मर्यादाक्रम निर्धारण गर्दा परम्परा, प्रचलित कानुन, पदको भूमिका र गरिमालाई आधार मान्नुपर्नेमा कुनै मापदण्डबिना कसैलाई माथिल्लो क्रममा राख्ने अभिष्टले गलत निर्णय भएको आयोगले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।