जनकपुर– सरकारले आफूहरुलाई पदमुक्त गर्न खोजेको भन्दै अस्थायी शिक्षकहरू आन्दोलनमा उत्रेका छन्।
उनीहरूले आफूहरूलाई स्थायी गर्नुपर्ने माग राख्दै केन्द्रीय राजधानी काठमाडौंमा प्रदर्शन गर्ने तयारी रहेको बताइएको छ।
उनीहरु माघ ७ गते नेपालको ७७ वटै जिल्लाबाट केन्द्रीय राजधानीमा पुगी प्रदर्शन गर्ने कार्यक्रम रहेको अस्थायी शिक्षक संघक अध्यक्ष विनोद यादवले बताए।
त्यसैगरी अस्थायी शिक्षकहरूले आफूहरूलाई स्थायीको माग राख्दै आज प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउत समक्ष ज्ञापन पत्रसमेत बुझाएका छन्।
वर्षौंदेखि अध्यापन गराइरहेको शिक्षकहरूलाई पदमुक्त गर्ने भएपछि उनीहरू आन्दोलनमा उत्रेका छन्।
उनीहरूले बिहीबार आफूहरूलाई स्थायी गर्न मागसहित ज्ञापन पत्र बुझाएका छन्।
ज्ञापनपत्रमा शिक्षकहरूलाई कुनै पनि बहानामा अवकाश नदिई अनिवार्य अवकाश उमेरको हदसम्म यथावत् विद्यालयमा कामकाजमा राख्ने माग उल्लेख गरिएको छ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राउतले शिक्षा क्षेत्रमा आफ्नो जीवनको लामो समय सम्म योगदान दिने अस्थायी शिक्षकहरूलाई स्थायीको लागि आफूले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
स्थायी गर्न शिक्षकहरुलाई मौका परिक्षा लिइए पनि सबैलाई फेल गरेको अध्यक्ष यादवले आरोप लगाए।
यादवले अस्थायी शिक्षकहरूको परिणाममा प्रदेश २ सँग पक्षपात गर्दै अधिकांश शिक्षकहरुलाई फेल गरेको आरोप लगाए।
अस्थायी शिक्षकहरूले शिक्षा मन्त्री गिरीराजमणि पोखरेलविरुद्ध नाराबाजी गर्दै र्यालीसहित मुख्यमन्त्रीको कार्यालयमा पुगी ज्ञापन पत्र बुझाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।