जनकपुर– धनुषामा आफ्नै बुहारी र नातिनीको हत्या गरेको आरोपमा प्रहरीले सासु–ससुरालाई पक्राउ गरेको छ।
जनकपुर उपमहानगरपालिका–४ बस्ने समिर मिश्रकी २५ वर्षीया श्रीमती सीमा शर्मा र उनकी दुई वर्षीया छोरी गौरी मिश्रलाई विष खुवाएर हत्या गरेको आरोपमा सीमाका ससुरा श्यामसुन्दर मिश्र र सासू किरण मिश्रलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
सीमाका माइतीले उनी र उनकी छोरी गौरीलाई घर पक्षले विष सेवन गर्न लगाएर हत्या गरेको आरोप लगाएका छन्।
घर पक्षले दाइजोका लागि सीमालाई दुःख दिने गरेको माइती पक्षको भनाइ छ। घटनापछि सीमाका श्रीमान् समिर मिश्र फरार छन्। सीमा र गौरीलाई विष खुवाएर समिर फरार भएको माइती पक्षको आरोप छ।
विष सेवनका कारण सीमाको मृत्यु भएको र गौरीको पनि उपचारका क्रममा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।