जनकपुर– प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले सचिव विद्यानाथ झालाई कुटपिट गरेको घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग गरिएको छ।
जनकपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर नेपाल शिक्षक संघ प्रदेश—२ ले सचिव झामाथि भएको घटनाको भर्त्सना गर्दै दोषीलाई कडा कारबाहीको समेत माग गरेको हो।
‘सरकारले गठन गरेको छानबिन समितिमाथि हाम्रो विश्वास छैन,’ पत्रकार सम्मेलनमा संघका अध्यक्ष मेघनाथ यादवले भने,‘ सरकारकै मन्त्रीले घटना गराएको छ। अनि सरकारकै मन्त्रीको अध्यक्षतामा छानबिन समिति बनेको छ। कसरी त्यो समितिले सत्य तथ्य बाहिर ल्याउन सक्छ ?’
अध्यक्ष यादवले थपे,‘कुटपिट घटनाको छानबिनको लागि स्वतन्त्र उच्च संसदीय न्यायिक छानबिन समिति गठन गरिनु पर्छ।’
मन्त्रीले सचिवमाथि गरेको दुर्व्यवहारबारे छानबिन गर्न प्रदेश २ को मन्त्रिपरिषदले आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा घटना पश्चात छानबिन समिति गठन गरेको छ।
समितिले सात दिनभित्र घटनाको सत्यतथ्य बुझी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई प्रतिवेदन बुझाउने बताइएको छ।
प्रदेश सरकारले गठन गरेको समितिले सत्य तथ्य ल्याउँछ भन्ने कुरामा जनस्तरबाटै शंका गरिएको छ।
‘कर्मचारीलाई मन्त्रिले नै हात हालिरहँदा प्रदेश सरकाको इज्जत कहाँ गयो? प्रदेश सरकारको इज्जत प्रतिष्ठा पनि खसेको हामीले महसुस गरेका छौं,’ अध्यक्ष यादवले भने,‘ मन्त्रिले सचिवमाथि कुटपीटको घटनाले सम्पूर्ण कर्मचारीहरुलाई निरुत्साहित बनाएको छ। दुःखपूर्ण घटनाप्रत खेद प्रकट गर्दछौँ।’
संघले प्रेस विज्ञप्ति जारी गर्दै घटना हुने कारणहरू पत्ता लगाउन पनि माग गरेको छ। गैरसरकारी संस्था छनोट गरी प्रदेशभरी खर्च हुन गइरहेको ८ करोड रकममा चलखेल भइरहेको बारे पनि छानबिन हुनुपर्ने माग गरेको छ।
संघीय समाजवादी फोरम नेपालका तर्फबाट मन्त्री बनेका यादवले गत आइतबार उद्योग, वन, पर्यटन तथा वातावण मन्त्रालयका सचिव झालाई सभामुख र प्रदेशसभा सदस्यकै अगाडि कुटपिट गरेका थिए।
आफू निकटको एनजीओलाई अनुदान नछुट्टाएको भन्दै मन्त्री सचिवमाथि खनिएका थिए।
संघीय सरकारको ससर्त अनुदानअन्तर्गत गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममा मन्त्री र सचिवको स्वार्थ बाझिएको थियो।
मन्त्रीले सचिवमाथि हातपात गर्दा प्रदेश सभामुख सरोजकुमार यादव र प्रदेशसभा सदस्य उपेन्द्र महतो पनि कार्यकक्षमै थिए।
प्रदेशलाई कमजोर बनाउन राजनितिक दलबाटै संघीयता विरोधी क्रियाकलाप भइरहेको शिक्षक संघले बताएको छ। स्थानीय तहबाटै शिक्षकहरूमाथि ज्यादती भइरहेको भन्दै संघले आपत्ति जनाएको छ।
स्थानीय तहमा शिक्षाको सबै अधिकार दिएर शिक्षाको अवस्था नाजुक बन्दै गइरहेको संघले स्पष्ट पारेका छ।
शिक्षक संघले जारी गरेको पाँच पृष्ठ लामो प्रेस विज्ञप्तिको २२ बुँदे निर्णयहरूमा उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।