काठमाडौं– सरकारले लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका नेताको नाममा बनेका प्रतिष्ठानलाई खारेज नगर्ने बताएको छ।
आफ्ना नेताहरुका नाममा बनेका अस्पताल खारेज गर्न लागेको भन्दै कांग्रेसले आपत्ति जनाएपछि सरकारको यस्तो धारणा आएको हो।
सरकार प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेताहरुका नाममा बनेका प्रतिष्ठानहरु खारेज नगर्ने बताए।
‘मनको बाघले कति खान्छ ? बनमा त बाघ छैन,’ सरकारका निर्णय सार्वजनिक गर्न बिहिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने,‘ हामीलाई राम्ररी थाहा छ, नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिनुहुने नेताहरुको सम्झनामा राखिए प्रतिष्ठानहरु हटाउने भन्ने हुँदैन।’
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँस्थित बेलचौतारामा रहेको गिरिजाप्रसाद श्वासप्रश्वास अस्पताल र बाँकेमा निर्माणाधीन सुशील कोइराला क्यान्सर अस्पताल सरकारले बन्द गर्ने निर्णय गरेको भन्दै पत्रकार सम्मेलन गरेरै आपत्ति जनाएका थिए।
आफ्ना दिवंगत दुई नेताका नाममा बनेका अस्पताल बन्द गर्न लागेको भन्दै त्यसपछि कांग्रेसका अन्य नेताहरुले समेत सरकारको आलोचना गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।