काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले अनसनरत डा गोविन्द केसी कुनै दलको नभएको बताएका छन्। कांग्रेसलाई भोट मागेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले डा केसीलाई ‘कांग्रेसको बिल्ला’ भिराएपछि थापाले जवाफ फर्काएका हुन्।
बुधबार इलाममा बोल्ने क्रममा भट्टराईले केसीले कांग्रेसलाई भोट मागेको भन्दै उनको आलोचना गरेका थिए। भट्टराईको अभिव्यक्तिको प्रतिवाद गर्दै थापाले भने, ‘केसी न कांग्रेसको समर्थक हुन् न कम्युनिस्टको विरोधी हुन्।’ केसीलाई कम्युनिस्ट विरोधी भन्नु अज्ञानता, अहंकारले प्रभावित र दृष्टिदोष भएको उनले बताए। भट्टराईले चुनावको समयमा केसीले चारतारे झण्डा बोकेर हिंडेको भन्दै उनको आलोचना गरेका थिए।
आम जनताको गुणस्तरीय स्वास्थ्य सेवाका लागि लड्दा कसरी कम्युनिस्ट विरोधी हुन्छ भनी उनले प्रश्न गरे।
संसदको शिक्षा तथ स्वास्थ्य समितिमा रहेका दुवै युवा नेताहरुको चिकित्सा शिक्षा विधेयकमा समेट्नुपर्ने विषयमा समितिका छलफलमा क्रमका अभिव्यक्तिहरु मिडियामा चर्चामा आइरहेका थिए। समितिले बहुमतले पारित गरेको विधेयक संसदमा टेबुल हुने क्रममा पनि दुई युवा नेताहरुको अभिव्यक्तिले महत्व पाइरहेको छ।
इलाममा बुधबार दिएको अभिव्यक्तिलाई थापाले जहाँबाट जवाफ दिए, त्यो ठाँउ भट्टराईले कार्यक्रम गरिराख्ने स्थान थियो। भट्टराईले आफ्नो गृह जिल्लाबासीहरुको कार्यक्रम गर्न बागबजारस्थित हार्दिक होटललाई रोज्दै आएका छन्। त्यसै स्थानमा पत्रकार सम्मेलन गरी थापाले अनसनरत केसीलाई चिन्नको लागि भट्टराईलाई जवाफ फर्काएका छन्।
चिकित्सा क्षेत्रमा भएको बेथिति हटाउने काम राजनीतिक दलको भएको औंल्याउदै उनले भने, ‘हाम्रो काम डा केसीले गरिरहनुभएको छ।’ उनले सबै राजनीतिक पार्टीहरुप्रति प्रश्न गर्दै भने, ‘कहिले कुन पार्टीको सरकारसँग, कहिले कुन पार्टीको सरकारसँग। डा गोविन्द केसी लडिदिनुपर्ने?’
थापाले केसीलाई फकिर र सन्तको संज्ञा दिए। केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्की, प्रधानान्याधीश गोपाल पराजुलीसँग लडेको बताउँदै उनले भने, ‘को कसको भागमा परेका थिए भनी उनलाई कहिल्यै चासो भएन। के नेकपा, के कांग्रेस उनको त्यो चासो होइन। चिकित्सा क्षेत्र सुधार्ने उनका पक्षधर हुन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।