विराटनगर – उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले यही मंसिर १० र २१ गते हुने संघीय संसद् र प्रदेश निर्वाचनपश्चात् संविधानको सफल कार्यान्वयन हुने बताएका छन्।
लोकतान्त्रिक फोरम नेपाल र नेपाली काँगे्रस पार्टीबीच भएको एकीकरणपछि पहिलोपल्ट विराटनगरस्थित नेपाली काँग्रेस पार्टी कार्यालयमा आज आयोजित स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले सो कुरा बताएका हुन्।
उनले संविधानमा देखिएका असहमतिका मुद्दालाई संशोधन गरी मधेशी, आदिवासी जनजाति, थारुलगायत सबै वर्गका स्वीकार्य संविधान बनाउने पनि बताएका छन्।
दोस्रो संविधानसभाबाट संविधान निर्माणका लागि आपूmले तीन ठूला पार्टीलाई एक ठाउँमा ल्याउन सफल भएको उल्लेख गर्दै उहाँले जनताको आन्दोलनबाट प्राप्त लोकतन्त्र र प्रजातन्त्र बचाउननै काँग्रेससँग पार्टी एकीकरण गरिएको बताए।
दुवै पार्टीका कार्यकर्ताको भावनाअनुसार एकीकरण भएको प्रशंग उल्लेख गर्दै नेपाली काँग्रेसका नेतासमेत रहनुभएका उहाँले आगामी संसदीय एवं प्रदेश निर्वाचनमा नेपाली काँग्रेस सबैभन्दा ठूलो पार्टी हुने दाबी गरेका छन्।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले नेपाली काँग्रेस मात्र तराई, पहाड, हिमालका जनताका हितैषी पार्टी रहेको बताए।
नेपाली काँग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूको सभापतित्वमा भएको उक्त कार्यक्रममा सो पार्टीका केन्द्रीय सदस्यद्वय डा डीला संग्रौला र गुरुराज घिमिरेका साथै युवा नेता रञ्जीत झा, भक्ति माझी लगायतले आउँदो निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउनका लागि ऐक्यबद्ध भएर अगाडि बढ्न आह्वान् गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।