नारायणपुर– नेपाली कांग्रेसका नेता डा रामशरण महतले आयोजना सञ्चालन हुन नसक्दा विकास बजेट खर्च हुन नसकेको बताएका छन्।
घोराहीमा दाङका पत्रकारसँगको कुरकानीमा नेता महतले विगतको सरकारले सुरु गरेका अधिकांश आयोजना अहिले अलपत्र अवस्थामा रहेको बताए।
'विगतको सरकारले देशभर १२/१३ हजार सानाठूला आयोजना सुरु गरेको थियो। ती आयोजना अहिले अलपत्र अवस्थामा छन्', नेता महतले भने, 'विकास बजेट कसरी खर्च हुन्छ? आयोजनाको काम सुरु भएपछि बजेट खर्च देखिने हो। विकास ठप्प छ, सरकारले कि पुराना आयोजनाको काम नै हुँदैन भन्नुपर्यो होइन भने स्थानीय सरकारलाई ती आयोजनाको जिम्मा लगाउनुपर्यो।'
उनले सरकारले सम्पूर्ण आयोजनालाई पार्टीकरण तथा नेताकरण गर्न खोजेकोसमेत आरोप लगाए।
कांग्रेसको नेतृत्वमा सुरु भएका आयोजनासमेत सरकारले आफ्नो पार्टीको नेताको नामबाट नामकरण गरेको उनको आरोप थियो।
नेता महतले अहिले संविधान कार्यान्वयनमा समेत समस्या देखिएको भन्दै नयाँ लगानीकर्ता निराश अवस्थामा रहेको बताए।
'सरकारले भाषणमा नयाँ लगानीकर्तालाई प्रवर्द्धन गर्ने योजना बनाएको छ भन्ने सुनिन्थ्यो, तर अहिले निजी क्षेत्र भागाभागको अवस्थामा छ, निराश छ', नेता महतले भने, 'सरकारले निजी क्षेत्र लगानीलाई प्रोत्साहन गर्नैपर्छ।'
उनले कांग्रेसभित्र ठूलो समस्या रहेकोसमेत सार्वजनिक गरे। पछिल्लो समय कांग्रेस धेरै पछाडि परेको भन्दै उनको नेतृत्वमा सुधार ल्याउन आवश्यक रहेको बताए।
'कांग्रेस अहिले धेरै पछि परेको छ, पार्टीको भित्री व्यवस्थापन र नेतृत्वमा समस्या छ', उनले भने, 'नेतृत्वमा सुधार गर्दै जाने, व्यवस्थापन गर्दै जाने कुरामा हामीले कोसिस गरिराखेका छौँ र कांग्रेस नयाँ दिशामा अगाडि बढ्छ।'
उनले वाइडबडी विमान प्रकरणमा पार्टीका सभापति संलग्न रहेको कुरा सञ्चारमाध्यममा आएजस्तो सत्य नभएको जिकिर गरे।
नेता महतले छानबिन समितिको अध्ययन र अदालतको प्रक्रियाले पुष्टि गर्नेसमेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।