काठमाडौं- स्थानीयको अवरोधबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाकै ठूलो सुक्खा बन्दरगाहको शिलान्यास गरेका छन्।
कीर्तिपुर नगरपालिकाको चोभारस्थित साबिकको हिमाल सिमेन्ट कारखाना परिसरमा बन्न लागेको बन्दरगाहको बिहीबार बिहान साढे १० बजे प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम थियो। तर, स्थानीय विरोधमा उत्रिएपछि कार्यक्रम केही ढिलागरी सुरु भएको थियो।
कीर्तिपुर नगरपालिका ६ मा पर्ने हिमाल सिमेन्ट कारखानमा बन्न लागेको सुक्खा बन्दरगाहको शिलान्यास हुन नदिन स्थानीयले प्रदर्शन गरेर अवरोध गरेका थिए।
चोभार संरक्षण समितिको अगुवाइमा भएको विरोध प्रदर्शनमा सहभागी केहीलाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी अनिलकुमार खड्काले जानकारी दिए।
स्थानीयको विरोधले शिलान्यास कार्यक्रममा केही समय अवरोध भएको र आफूहरुले प्रदर्शनकारी नियन्त्रणमा लिएपछि त्यो सुचारु भएको उनले बताए। 'उनीहरु अझै नियन्त्रणमा छन्,' उनले भने।

किन भइहेको छ विरोध?
ऐतिहासिक र पर्यटकीय महत्व बोकेको चोभारमा सुक्खा बन्दरगाह निर्माण गर्न नहुने भन्दै स्थानीयले यसको पहिलेदेखि नै विरोध गर्दै आएका थिए।
नगरपालिका पनि स्थानीयकै पक्षमा देखिएको छ। कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले हिमाल सिमेन्ट उद्योगसँग सम्बन्धित जग्गाको अधिग्रहण, कर्मचारीको समस्या र स्थानीय जनताको माग समाधान नभएको भन्दै स्थानीयले गरेको विरोधमा आफ्नो पनि नैतिक साथ रहेको बताए।
२०२३ सालमा अधिग्रहण गरिएको जग्गाको मुआब्जा नदिइएको, हिमाल सिमेन्टका कर्मचारीलाई दिने भनिएको राहत नदिई सुक्खा बन्दरगाहको काम अघि बढाउन खोजिएको भन्दै त्यसमा नगरपालिकाले पनि असहमति जनाएको उनले बताए।
त्यसै अनुरुप प्रधानमन्त्रीले आज शिलान्यास गर्ने कार्यक्रममा औपचारिक रुपमा आफ्ना कोही पनि प्रतिनिधि नगएको महर्जनको भनाइ छ।
स्थानीयलाई दिनुपर्ने मुआब्जा र हिमाल सिमेन्टका तत्कालीन कर्मचारीलाई दिनुपर्ने राहत दिए केही स्थानीयले भने जस्तो वातावरणको कुराले बन्दगाह निर्माणमा अवरोध नहुने प्रमुख महर्जनले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।