काठमाडौँ – निर्वाचन आयुक्त नरेन्द्र दाहालले आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मितव्ययी बनाउन उम्मेदवारलाई प्रेरित गर्ने ढंगबाट सञ्चारमाध्यमबाट सकारात्मक सन्देश प्रवाह हुन आवश्यक रहेको बताएका छन्।
राजधानीबाट प्रकाशन तथा प्रसारण हुने राष्ट्रिय सञ्चारमाध्यममा निर्वाचनबीचमा कार्यरत सञ्चारकर्मीका लागि सञ्चालित ‘निर्वाचन र सञ्चार’ विषयक प्रशिक्षण समापन समारोहमा उनले भने, “मुलुक संविधान कार्यान्वयनको चरणमा छ, जनमत निर्माणमा सञ्चारमाध्यमको ठूलो योगदान हुन्छ, सबैले निर्वाचनलाई सफल तुल्याउने ढंगबाट योगदान पु¥याउन आवश्यक छ।”
सहभागीकोतर्फबाट नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलीप थापा मगरले आयोगले प्रदान गरेको निर्वाचनसम्बन्धी प्रशिक्षणबाट लिएको पाठलाई आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र पारदर्शी तुल्याउन कार्यान्वयन गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे।
प्रशिक्षणमा निर्वाचन प्रक्रिया, निर्वाचन कानून, नेपालको संविधानले निर्वाचनका सन्दर्भमा अपनाएको समावेशी र समानुपातिक सिद्धान्त, उम्मेदवारी दर्ता, मतपत्रमा मत संकेत गर्ने तरिका, मतगणना र मत परिणाम सार्वजनिकजस्ता विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान दिलाइएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।