जनकपुर- प्रदेश नम्बर २ को आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिका लागि महाअभियान थालिएको छ।
जनकपुरमा सोमबार आयोजित एक कार्यक्रममा भोर, अभियानी तथा अनुसन्धानमूलक परोपकारी संस्थाको अवधारणामा महाअभियान सुरु गरिएको जानकारी दिइयो । समाज परिवर्तनका लागि क्रियाशील ६५ व्यक्तिको सहभागितामा सञ्चालित कार्यक्रममा प्रदेश २ को समृद्धिका लागि बृहत् संवाद कार्यक्रम पनि सञ्चालन गरिएको थियो।
महाअभियानको पहिलो चरणमा प्रदेश नम्बर २ का आठ वटै जिल्लामा सरकारी, गैरसरकारी, विज्ञ तथा विभिन्न सरोकारवाला निकायसँग अन्तरक्रिया गर्ने भोर संस्थाका अध्यक्ष राजकुमार महतोले जानकारी दिए।
दोस्रो चरणमा आठ जिल्लाका भौतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक विषयको बृहत्त् अध्ययन गरी सम्बद्ध जिल्लाका विज्ञहरुको सहयोगमा रिपोर्ट तयार पारिने जनाइएको छ । सो रिपोर्टलाई एकीकृत गरी बृहत् प्रतिवेदन तयार गरिने र त्यसलाई निर्वाचनपछि गठन हुने प्रदेश सरकार तथा संघीय सरकारलाई बुझाउने महतोले बताए।
प्रतिवेदन कार्यान्वयनमा भोरले प्राविधिक सहयोग गर्ने र सहयोगका लागि विभिन्न विदेशी दातृ संघसंस्थालाई प्रदेश नम्बर २ को अवस्था र आवश्यकताबारे सहयोगी नियोगहरुलाई सुसूचित समेत गराउने योजना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।