काठमाडौं– आज माघे संक्रान्ति, देशभर हर्षोउल्लासका साथ मनाइँदै छ। शिशिर यामको मध्यसमयमा पर्ने यस दिनले विभिन्न समुदाय र जातिहरुका लागि भिन्दाभिन्दै महत्व बोकेको पाइन्छ।
थारु समुदायले माघीको रुपमा मनाउने यस दिनलाई नयाँ वर्ष मानी शुभकामना आदानप्रदान गर्ने गर्दछन्। मगर, नेवार तथा ब्राह्मण समुदायका लागि पनि यस दिनको गरिमा उच्च छ।

सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने र यस दिनबाट दिन लम्बिँदै तथा रात छोट्टिँदै जाने भन्दै ब्राह्मण समुदायले ‘मकर संक्रान्ति’को रुपमा मनाउने चलन रहिआएको छ। सामान्यतया सूर्यले सबै राशीलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ। यस दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ।
यस दिन विभिन्न नदी, तलाउ तथा खोलाहरुमा गई स्थान गर्ने तथा मठमन्दिरमा पूजाअर्चनासमेत गर्ने चलन छ। यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गा सागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ।
भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यसदिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी भइने उल्लेख छ।

५ प्रदेशमा सार्वजनिक बिदा
माघे सक्रान्ति र माघीको अवसरमा केन्द्र सरकारले यस वर्ष बिदा कटौती गरेपनि विभिन्न प्रदेश सरकारले भने सार्वजनिक बिदाको घोषणा गरेका छन्। प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशले सार्वजनिक बिदाको घोषणा गरेका हुन्।
माघीकै अवसरमा प्रदेश ५ मा भने मंगलबार र बुधबार गरी २ दिनका लागि सार्वजनिक बिदा दिइएको छ।
उता कैलालीका ३ वटा स्थानीय तहले समेत सार्वजनिक बिदाको घोषणा गरेका छन्। टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन्। थारू समुदायको मुख्य पर्व अरु समुदायले पनि महत्व दिएर मनाउने भएकाले पनि यी प्रदेश तथा स्थानीय तहमा बिदा दिइएको हो।
सार्वजनिक बिदाका दिन प्रदेश तथा स्थानीय तह मातहतका सबै सरकारी कार्यालय, विद्यालयलगायत बन्द हुनेछन्।
अर्को वर्षका लागि भने केन्द्र सरकारले माघ १ गतेका लागि सार्वजनिक बिदा दिने प्रस्ताव अघि सारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।