काठमाडौं– एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिता आगामी पुस ४ गतेबाट हुने भएको छ । इपिएलले मंगलबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको मिति घोषणा गरेको हो।
१२ दिन चल्ने लिगमा १९ खेल हुनेछन् । लिगमा ६ टिमबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने लिगमा काठमाडौं किंग्स इलेभेन, ललितपुर पाट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज र चितवन टाइगर्स प्रतिस्पर्धा गर्नेछन्।
इपिएलले टाइटल स्पोन्सरका लागि टिभिएस मोटर्स कम्पनीसँग सम्झौता गरेको छ । तर, सम्झौता रकम भने खुलाइएको छैन।
सम्बन्धित समाचार : इपिएलमा चार खेलाडी बने महँगा, ६ टिमका लागि ६० खेलाडी बिक्री
यसअघि सोमबार इपिएलका लागि खेलाडी अक्सन (बोलकबोल) गरिएको थियो । अक्सनमा प्रत्येक टिमले १०–१० खेलाडी आफ्नो टिममा भित्र्याएका थिए । अब प्रत्येक टिमले ३–३ जना विदेशी तथा एक स्थानीय खेलाडी ट्यालेन्ट हन्टमार्फत छान्न बाँकी छ।
अक्सनमा अलराउन्डर आरिफ शेख, तीव्र गतिका बलर करण केसी, युवा स्पिनर सन्दीप लामिछाने र विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी सबैभन्दा बढी १ लाख ७५ हजार रुपैयाँमा बिक्री भएका थिए । आरिफलाई भैरहवा ग्लाडिएटरले भित्र्याउँदा करणलाई विराटनगर वारियर्सले आफ्नो टिममा राखेको थियो । सन्दीप ललितपुर पाट्रिओट्समा उच्चतम मूल्यमा बिक्री भएका छन् भने विनोद पोखरा राइनोजमा आबद्ध भएका थिए।
यस्तै, काठमाडौंमा सोमपाल कामी, ललितपुरमा ज्ञानेन्द्र मल्ल, विराटनगरमा पारस खड्का, भैरहवामा शरद भेषावकर, पोखरामा शक्ति गौचन र चितवनमा दीपेन्द्रसिंह ऐरी ‘मार्की’ खेलाडीका रुपमा आबद्ध भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।